अविरल वर्षा र पहिरोका कारण देशभरका ९ प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध।
बिपी राजमार्ग र कान्ति लोकपथमा वर्षायामभर निश्चित समयमा सवारी सञ्चालनमा रोक।
अरनिको राजमार्ग, मेची राजमार्ग, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गलगायत प्रभावित।
दोलखाको लामासाँघु–रामेछाप सडकमा वैकल्पिक मार्ग सञ्चालनमा।
नेपाल प्रहरीले आवश्यक सतर्कता अपनाउन यात्रुलाई आग्रह गरेको छ।
काठमाडौं, ८ साउन । अविरल वर्षासँगै विभिन्न स्थानमा गएको पहिरो र सडक कटानका कारण देशका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेसम्म नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, कान्ति लोकपथ मा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।पहिरोका कारण इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग, मुगुको नाग्म–गमगडी सडक, रसुवाको पासाङ ल्हामु राजमार्ग, अछामको मध्यपहाडी लोकमार्ग तथा लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा पहिरो र बाढीको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
