काठमाडौं, १९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार दिउँसो महाराजगञ्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ।
ओली देउवालाई भेट्न विशेष रूपमा महाराजगञ्ज पुगेका थिए। देउवा सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, आगामी सहकार्यका सम्भावना र पार्टीगत अवस्थाबारे समेत अनौपचारिक कुराकानी भएको बताइएको छ।
भेटमा दुवै नेताका पत्नीहरू देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्यसमेत सहभागी रहेका थिए।
भेटवार्ता करिब केही समय चलेको र विशेष एजेन्डा भने सार्वजनिक गरिएको छैन। नेपाली राजनीतिमा लामो समयदेखि प्रभावशाली दुवै नेताबीचको यो भेटलाई राजनीतिक वृत्तले सञ्चार, सहकार्य तथा शक्ति-सन्तुलनका सम्भावित संकेतका रूपमा हेरिएको छ।
काठमाडौं, २६ असोज। पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनलाई आज आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले पक्राउ गरेको हो।
२०७९ पुस १० गते फ्लाई दुबईको FZ0587 फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ राहदानीधारी लि हानसोङले दुईवटा सुटकेश ल्याएका थिए। ती सुटकेशभित्र ७३ वटा बट्टामा ७३० थान ‘भेप’ रहेको खुलेको थियो। भेपमा सुन लुकाएर ल्याइएको प्रमाणित भएको थियो।
अनुसन्धान अनुसार, ती भेपभित्र करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको थियो। उक्त सुन भन्सार कार्यालयका नासु रेवन्त खड्का लगायतको मिलेमतोमा बेचिएको तथ्य फेला परेको छ। सो सुन छुटाउनका लागि तत्कालीन सभामुख महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो। सोही प्रकरणमा उनका छोरा राहुल महरा यसअघि नै पक्राउ परेर कारागार चलान भइसकेका छन्।
दुईवटा सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सारले जाँच गर्दा ‘भेप’ भेटिएको थियो। भेप नियन्त्रणमा लिएपछि चिनियाँ नागरिक लि हानसोङले पासपोर्ट फिर्ता लिएर अर्को दिन काठमाडौं छोडेका थिए। तर, भेपमा सुन लुकाइएको सूचना पाएपछि भन्सारका कर्मचारीहरूले ती भेप साटेको शंका बढेको थियो। त्यसपछि २०८१ वैशाख २६ गते भन्सारले CIB लाई पत्राचार गर्दै विस्तृत अनुसन्धान गर्न आग्रह गरेको थियो।
करिब दुई महिनाको अनुसन्धानपछि CIB ले सुन तस्करी भएको ठहर गर्दै रेवन्त खड्का सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा, र नीमा गुरुङलाई समेत मतियार बनाइएका थिए।
अब महरालाई पक्राउ गरिएसँगै यो प्रकरणमा तेस्रो अभियोजन सुरु हुन लागेको छ। केही दिन अघि मात्रै महरासँग सोही विषयमा बयान लिइएको थियो। अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलमार्फत सुन भित्र्याउने चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको निरन्तर सम्पर्क रहेको कल रेकर्डबाट पुष्टि भएको छ।
यसअघि पनि महरा अनुसन्धानको दायरामा तानिएका थिए, तर सत्ता र शक्तिको आडमा फाइल अघि नबढेको आरोप लाग्दै आएको थियो। अहिले पुनः पक्राउसँगै यो प्रकरणले नयाँ मोड लिएको छ।
मुख्य बुद्धा
भक्तपुरमा १८ असोजमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या कार्यक्रमको पहिलो दिन सम्पन्न।
प्रमुख अतिथि नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ न.आ. यणमान बिजुक्छेले साहित्यमा पनि राजनीति हुने र जनताको सेवामा राजनीति आवश्यक रहेको बताए।
कार्यक्रममा स्वागत भाषण रविन्द्र खर्बुजा, र सिडीओ नवराज घिमिरे, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार यचु जोशी लगायत व्यक्तिहरू उपस्थित
विभिन्न क्षेत्रमा योगदान गर्ने गोपाल बासुकला, किसान अग्रज लगायतलाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान।
कार्यक्रमले साहित्य, कला र संस्कृतिको महत्वबारेकाे योगदानलाई सम्मान ।
भक्तपुर, १९ असोज । भक्तपुरमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या कार्यक्रमको जारी रहेकाे छ । पहिलो दिन शनिबार भव्य रूपमा सम्पन्न कार्यक्रममा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ नारायणमान बिजुक्छेले साहित्य र राजनीति सम्बन्धित विचार व्यक्त गर्दै “साहित्यमा पनि राजनीति हुन्छ। राजनीति नगर्ने मान्छे एक्लो हुन्छ। राजनीति भन्नुको मतलब शासन–सत्तामा जाने वा अकूत सम्पत्ति कमाउने होइन, जनताको वास्तविक सेवा गर्ने उद्देश्यका लागि राजनीति गर्नु हो। तल्लो वर्गका छोराछोरीलाई व्यवहारिक ज्ञान दिनुपर्छ। शोषक सामन्तले तल्लो वर्गका जनताको हितमा काम गर्दैन।” भन्नुभयाे ।
रविन्द्र खर्बुजाले स्वागत गर्नुभएकाे कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नवराज घिमिरे, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार यचु जोशी, डा. पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ इन्जिनियर रामविन्दु श्रेष्ठ, डा. विरेन्द्र कायस्थ, कवयत्री बेवी झा, त्रिवि अंग्रेजी केन्द्र प्रमुख तारालाल श्रेष्ठ, कवयत्री इन्दिरा प्रसाई, साहित्यकार नरेन्द्र राज प्रसाई, भक्तपुर नपा प्रमुख सुनिल प्रजापति, तःमुंज्या केन्द्रीय समितिका आशाकुमार चिकबन्जार र सभापति राजेन्द्र प्रसाद हाडाकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। यसअन्तर्गत गोपाल बासुकला, किसान अग्रज बिकुनारायण माते, लोक कविका रुपमा संघरत्न शाक्य, कनक बाजा गुरु जगतलाल खर्बुजा, गायक तथा संगीतकार रवि हाडालाई नेमकिपाका अध्यक्ष रोहितले प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभएकाे थियाे ।
कार्यक्रममा कला, संस्कृति र साहित्यको महत्व बारेमा प्रकाश पार्दै, सबै अतिथिहरूले साहित्य र सांस्कृतिक क्रियाकलापमा निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
मुख्य बुँदा
पछिल्लो २४ घण्टामा रौतहटमा ३५३ मिलिमिटर र पर्सामा २८८ मिलिमिटर वर्षा।
१० वटा नदीमा खतराको तह पार, बाढी र सम्भावित पहिरोका लागि साइरन बजाइएको।
अन्य जिल्लाहरूमा पनि भारी वर्षा — बारामा २१४, सिन्धुलीमा २२0, सर्लाहीमा २२३ मिलिमिटर।
ललितपुर खोकनामा बागमती, सिन्धुलीको कमला नदी, मकवानपुरको लालबकैया नदीमा खतराको संकेत।
बङ्गालको खाडीबाट आएको मनसुनी वायु सक्रिय, आगामी २४ घण्टामा धेरै ठाउँमा भारी वर्षाको सम्भावना।
विभागले सबै नागरिकलाई सतर्क रहन अनुरोध।
काठमाडौँ, १९ असाेज । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ । यो शनिबार राति ८स्३० बजेको अद्यावधिक विवरण हो ।
पछिल्लो २४ घण्टाको तथ्याङ्क विश्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरूमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो । बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ । ललितपुरमा पनि भारी वर्षा भइरहेको छ ।
ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ । चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ ।
५० देखि १०० मिलिमिटरको बिचमा वर्षा हुने जिल्लाहरू भने दर्जनौँ रहेका छन् । विभागको बाढी पूर्वानुमान महाशाखाले अहिलेसम्म ललितपुर खोकनामा बागमती, सिन्धुलीस्थित कमला नदी, मकवानपुरको लालबकैया नदीले खतराको तह पार गरिसकेको जनाएको छ ।
रौतहट, बारा, पर्सा वर्षा मापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेपछि साइरन समेत बजाइएको छ । राति पनि भारी वर्षा जारी रहने भएकाले सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
अहिले बङ्गालको खाडीबाट आएको मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभागले आज साँझदेखि आउँदो २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी प्रदेश,बागमती प्रदेश, मधेस प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको अनुमान सार्वजनिक गरेको छ । रासस
मुख्य बुँदा
अविरल वर्षाका कारण इलाममा बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति।
पछिल्ला दुई दिनमा १८ जनाको मृत्यु, सबै इलाम जिल्लाकै।
सूर्योदय नगरपालिका, माङसेबुङ, देउमाई, फाकफोकथुम र इलाम नगरपालिका सबैभन्दा बढी प्रभावित।
प्रहरीका अनुसार अझै केही व्यक्ति बेपत्ता — खोजी तथा उद्धार कार्य जारी।
घोसगाउँमा मात्रै ६ जनाको मृत्यु, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु पुष्टि।
इलामका धेरै भागमा सडक, पुल र घरहरूमा क्षति, आवागमन अवरुद्ध।
सुरक्षाकर्मी र स्थानीय टोली उद्धारमा सक्रिय, राहत वितरणको तयारी सुरु।
इलाम, १९ असोज । पूर्वी नेपालको इलाम जिल्लामा लगातार परिरहेको वर्षाले ठूलो मानवीय क्षति पुर्याएको छ। पछिल्ला दुई दिन (हिजो र आज) मात्र बाढी, पहिरो र डुबानका कारण १८ जनाले ज्यान गुमाएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक पोखरेलका अनुसार सबै मृतक इलाम जिल्लाकै रहेका छन्। उनले भने, “पछिल्ला दुई दिनको अवधिमा विभिन्न स्थानमा पहिरो र बाढीले १८ जनाको मृत्यु भएको पुष्टि भएको छ, खोजी र उद्धार कार्य जारी छ।”
प्रहरीको विवरणअनुसार सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु, माङसेबुङ गाउँपालिका–१, पाटिगाउँमा ३ जनाको मृत्यु, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र धुसुनेमा २ जनाको मृत्यु, फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा १ जनाको मृत्यु, इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ।
यससँगै इलाममा बाढी–पहिरोका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको पुष्टि भएको छ। प्रहरीका अनुसार अझै केही व्यक्ति बेपत्ता छन् भने क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।
अविरल वर्षाका कारण इलामका विभिन्न क्षेत्रमा सडक, पुल र घरहरूमा क्षति पुगेको छ। स्थानीय प्रशासन, प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा राहत कार्यमा सक्रिय रहेको इलामका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
काठमाडौँ, १९ असोज । वर्षा घटेर आकाश खुल्न थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा पुनः नियमित बन्दै गएको छ।विमानस्थल कार्यालयका अनुसार, विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण हिजोदेखि आन्तरिक उडानहरू स्थगित गरिएको थियो भने केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका थिए।
तर, आज बिहानदेखि मौसम सुधार हुँदै गएपछि उडान र अवतरण दुवै नियमित भएको विमानस्थलले जनाएको छ। बिहानैदेखि देशका विभिन्न स्थानतर्फका आन्तरिक उडानहरू सुचारु भएका छन् भने अन्तर्राष्ट्रिय उडानहरू पनि निर्धारित समयमै सञ्चालनमा आएका छन्।
विमानस्थल प्रशासनले यात्रुहरूलाई निर्धारित समयमा नै विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ। साथै, मौसममा अचानक परिवर्तन हुन सक्ने भन्दै सम्भावित ढिलाइका लागि तयारीसहित यात्रा गर्न सल्लाह दिइएको छ।
इलाम, १९ असोज ।पूर्वी नेपालको इलाममा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्लाको विभिन्न ठाउँमा पहिरो र बाढीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको र १५ जनाभन्दा बढी बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको इलाम प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए। उक्त घरमा रहेका तीन जना अझै बेपत्ता छन् भने दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। उद्धार टोली घटनास्थलमा खटिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, माइजोगमाई गाउँपालिका–६ बर्मालाल सोग्मीको पाँच सदस्यीय परिवार पनि राति खसेको पहिरोमा परेर बेपत्ता भएको छ। पहिरोका कारण सम्पर्कविहीन बनेका उनीहरूको खोजी कार्य बिहानैदेखि सुरु गरिएको छ। इलामको मांसेबुंग गाउँपालिका–१ मा आएको बाढीले एउटा पुल समेत बगाएको छ। सो क्षेत्रमा पनि पहिरोले पुर्दा ५ जना बेपत्ता भएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय इलामले दिएको छ।
त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङ निवासी कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मृतक र बेपत्ताको आधिकारिक विवरण संकलन भइरहेको छ।
बिहानबाट वर्षा रोकिएपछि उद्धार कार्य तीव्र पारिएको र स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूले संयुक्त रूपमा खोजी र उद्धार कार्य गरिरहेको इलाम प्रहरीका प्रमुख कोइरालाले बताएका छन्।
काठमाडौँ, १९ असोज ।देशभर निरन्तर परिरहेको वर्षाका कारण प्रमुख नदीहरूको जलसतह तीव्र रूपमा बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहानसम्म देशका ८ वटा नदीले खतराको तह पार गरेका छन् भने १२ वटा नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।
विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला (सुनसरी), बिरिङ खोला (झापा) लगायतका नदीमा खतराको तह नाघेको छ।
त्यस्तै, कोशी प्रदेशका धेरै नदीहरूमा पानीको बहाव बढ्दो क्रममा रहेको छ भने बागमती र मधेश प्रदेशका केही नदीहरूमा बहाव स्थिर र केहीमा घट्दो देखिएको छ। पूर्वानुमान शाखाले कोशी, मधेश र बागमती प्रदेशका अन्य नदी तथा खोलाहरूमा पनि बहाव सतर्कता तह नजिक पुगेको जनाएको छ। विभागले जारी गरेको बिहानको सूचनामा भनिएको छ ।
“बागमती र मधेश प्रदेशमा वर्षाको तीव्रता घट्दै गएको छ भने कोशी प्रदेशका धेरै स्थानमा अझै मध्यमदेखि भारी वर्षा जारी छ, जुन क्रम केही घण्टा कायम रहन सक्छ।” बाढी पूर्वानुमान शाखाका अनुसार, ती नदीमा आइतबार बेलुकीसम्म बाढीको उच्च जोखिम रहने र सोमबार बिहानसम्म मध्यम जोखिम रहन सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासन र नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।