भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणः मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ र गति प्रदान गर्ने विश्वास

प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणः मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ र गति प्रदान गर्ने विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली  चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा साेमबारदेखि मङ्सिर २० गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जादैछन् । साेमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समय अनुसार साँझ  ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछन् । 

आइतबार मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरुमा बारेमा छलफल गर्दै  भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता हुने बताइएकाे छ । त्यसैगरी बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा आठ सदस्य थपिने छन् । सरकारी टोलीका ४६ मध्ये दुई सदस्य तयारीका लागि यस अघि नै चीन पुगिसकेका छन् ।

भ्रमणका क्रममा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने बताइएकाे छ । त्यस्तै बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना अघि सारेकाे छ । एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेको छ ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि पनि सहमति हुनेछ । मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

भ्रमणका क्रममा मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुहुनेछ भने तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नुहुनेछ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ । मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ । सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते २ः३० बजे स्वदेश फर्कनुहुनेछ ।

भ्रमणको तयारीकै क्रममा सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) लगायत दुई मुलुकका सहयोग र सहकार्यका विषयमा गृहकार्य भएको छ ।

दुई देशशीच सहयोग र सहकार्य हुँदै आएका कनेक्टिभिटी, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायतका क्षेत्रमा सहयोग र सहकार्यका विषयमा थप छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले चीनको भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा करिब साढे तीन घन्टा छलफल गर्नुभएको थियो । यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद्को बैठकले भ्रमण दलमा रहने सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहित भ्रमणलाई स्वीकृत गरेको थियो भ्रमणको तयारीका क्रममा परराष्ट्रमन्त्री डा राणाले शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छन्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरी स्वदेश फर्कनुभएको थियो ।

भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत हुनुुहुन्छ ।

आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि यो भ्रमण थप महत्वको विषय बनेको छ । चीनले हालै नेपाली पर्यटकका लागि भिसा शुल्क नलाग्ने घोषणाका साथै नेपाल–चीनबीचका सबै परम्परागत सीमानाका पुनः नियमितरूपमा सञ्चालन ल्याएएको छ । यसबाट दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेको छ ।

पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास गरिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.