नगरबासी १५१ जना विद्यार्थीलाई भनपाद्धारा शैक्षिक ऋण प्रदान

नगरबासी १५१ जना विद्यार्थीलाई भनपाद्धारा शैक्षिक ऋण प्रदान image

भक्तपुर । उच्च शिक्षा अध्यन गर्नबाट बञ्चित हुन नपरोस् भनेर भक्तपुर नगरपालिकाले विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१, ०८२ का लागि नगरभित्रका १५१ जना विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराएको हाे । एक कार्यक्रमको आयोजना गरी शैक्षिक ऋण वितरणसम्बन्धी अभिमुखीकरण समेत सम्पन्न गरेको नगरपालिकाले जनाएकाे छ ।

नगरबासी कुनैपनि विद्यार्थीहरु शिक्षाबाट वञ्चित नहोस भन्ने उदेश्यले नपाले सहुलियत दरमा शैक्षिक ऋण प्रदान गर्दै आइरहेको नगर प्रमुख सुनिल प्रजापतिले बताए । शिक्षामा गरेको लगानीले संसारलाई परिवर्तन गर्न दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउँदै उहाँले विदेशमा उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्नेमा जोड दिए ।

वर्षेनी लाखौंको संख्यामा विद्यार्थीहरु विदेशिँदा नेपालका कलेज तथा विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै ती संस्थाहरुमा संकट निम्तिएको जिकिर उनको छ । विद्यार्थीको भविष्य उनीहरुको मेहेनतमा भर पर्ने विषय भएको भन्दै नपाले भक्तपुर प्रवेश गर्ने विदेशी पर्यटकबाट उठाएको पर्यटन शुल्कबाट भक्तपुरको सम्पदा पुनःनिर्माण र विकास निर्माण कार्यमा सहयोग मिलेको नगरपालिकाले जनाएको छ ।

यसबाट भक्तपुरको शैक्षिक, सांस्कृतिमा मात्रै होइन, सफाइमा समेत परिवर्तन ल्याएको देखिन्छ । शैक्षिक ऋण बाहेक पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा वार्षिक रु. ४ करोडबढी छात्रवृत्ति प्रदान गर्दै आएको उप–प्रमुख रजनी जोशीले बताइन । विद्यार्थीहरुले आफूले अध्ययन गरेको विषयमा दक्षता हासिल गर्ने ढंगले आफ्नो पढाइलाई निरन्तरता दिन प्रेरित गरेकाे उनको धारणा छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले शैक्षिक ऋण वितरण कार्यक्रम नेपालकै एक उदाहरणीय कार्य भएको तर्क गरे । विद्यार्थीको उज्ज्वल भविष्यका लागि नगरपालिकाले सराहनीय कार्य गरेकोमा धन्यबाद दिए । शैक्षिक ऋण प्राप्त विद्यार्थीहरुले विदेश जाने सोचबाट टाढा रहने बताए । शैक्षिक ऋण कार्यक्रमबाट आफुजस्ता धेरै विद्यार्थीहरु लाभान्वित भइरहेको विद्यार्थीको भनाइ छ ।

शैक्षिक ऋणको औचित्य र महत्वमाथि प्रस्ट पार्दै वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विद्यार्थीहरुलाई नगरपालिका र नगरबासीहरुप्रति उत्तरदायी बन्न यस कार्यक्रमले थप प्रेरित गरेको बताए । नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनमा सघाउ पु¥याउन शैक्षिक ऋणको व्यवस्था गरेकोमा नगरबासी खुसी भएका छन् । विद्यालय तह (कक्षा १२) भन्दा माथिको शिक्षामा विद्यार्थीले शैक्षिक प्रमाण पत्र धितो राखी उच्च शिक्षाका लागि नगरपालिकाबाट सहुलियत ऋण प्राप्त गर्छन् ।

यस्तो ऋण विद्यार्थीले पढाइ पूरा नहुदा सम्म तिर्नुपर्दैन तर पढाइ पूरा भएको ४ वर्ष भित्र वार्षिक २५ प्रतिशतका दरले ऋण चुक्ता गर्नुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । यसअघि ६०० जना विद्यार्थीहरुलाई नगरपालिकाबाट रु. ५ लाखसम्म ऋण दिएर उच्च शिक्षा अध्ययन गरिरहेकोमा यस आ.व. २०८१, ०८२ मा १५१ जनालाई शैक्षिक ऋण स्वीकृति गरेकोसमेत गरी कुल ७५१ जनाले रु. ५ लाखको शैक्षिक ऋण सुविधा लिएर उच्च शिक्षा अध्ययन गरिरहेको तथ्याङ्कले देखाएको छ ।

जम्मा ४५४ जना विद्यार्थीहरुले शैक्षिक ऋण लिएर अध्ययन गरिरहेका छन् भने ५१ जनाले ऋण चुक्ता गरिसकेका छन् । शैक्षिक ऋणमा रु. १३ करोड ६९ लाख ५० हजार लगानी भएको छ । रु. १ करोड ६४ लाख ९४ बराबरको साँवा ब्याज फिर्ता भइसकेको नगरपालिकाले जनाएको छ । त्यसबाहेक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गरिदै आएको छ ।

सस्तो र गुणस्तरीय शिक्षा अध्ययन गर्ने उद्देश्यले ७ वटा शैक्षिक संस्थाहरुमा हाल देशका ७७ जिल्लाबाट ७ हजारबढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । ख्वप विश्वविद्यालय स्थापनाको अवधारणा अगाडि सारेर सजिलैसित चिकित्सा शिक्षा पढ्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको नगरपालिकाले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda