जातीय कुप्रथाले सिर्जना गरिदिएको कथित उच्च जातको अहङ्कारका कारण रुकुम पश्चिमको चौरजहारी, कालिकोट, कास्कीलगायत तराईका जिल्लामा भैरहेको केही बर्बर युगको झल्को दिने नरसंहारकारी घटनाको चौतर्फीरुपमा तीव्र विरोध भैरहदा बजारमा आएको यो म्युजिक भिडियोले एकपटक रातो रगत भित्र दानव पन देखाई रहेकालाई सोच बदल्न भनिरहेको छ ।
चौरजहारीको नरसंहारकारी घटनाबारे २०७७ जेठ १८ गते प्रतिनिधिसभामा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने, ‘मेरो एउटा प्रस्ताव छ छलफलका निम्ति, तपाईं हामी सबैले दलित नाम राख्दिम न, बाबुराम भट्टराई कामी भन्न किन नहुने ?’
डा. भट्टराईको उक्त अभिव्यक्तिलाई लिएर सञ्चार जगतमा तीव्र टिप्पणी भइरहेका छन् । के जातीय विभेद र छुवाछुतको यो पर्खाल कथित उच्च जातिका मानिसहरुले आफ्नो थर बदल्दैमा भत्किन्छ ? लोकगायक हेमन्त कान्छा रसाइलीको नया गीत ‘थर बदल्नु पर्दैन’ त्यही प्रश्नको उत्तर लिएर आएको छ ।
रगत सबैको रातै हो सेतो हुने कुन छ
बाहुन दाइलाई बाहुन भन
कामी दाइलाई कामी भन
थर बदल्नु पर्दैन, सोच बदले हुन्छ
थर बदल्नु पर्दैन पानी चले पुग्छ ।
यहाँ थिचेर हेर्नुहोस् भिडियो…
हो, वास्तबमा हामीले बदल्नु पर्ने भनेको समाजमा जरा गाडेर बसेको कुबिचारको पिछडिएको सोच हो । छुवाछुतको कुप्रथाले हाम्रो समाजमा यति गहिरो जरा गाडेको छ कि हामी मुखले जातीय समानताको कुरा गरे पनि व्यवहारमा त्यसलाई उतार्न चुकिरहेका हुन्छौं । आफैभित्र लुकाई रहेको राक्षसी पन अब हटाउनु पर्छ । जातीय अहङ्कार प्रकटमा राज्य नै लागि परेको छ । सामन्तवादी संस्कार र कुरीतिले गणतन्त्र आउदा समेत अझै राक्षसीहरुको चंगुलमा मानवता भएकाहरु कहिले सम्म परिरहने ? अबत उठ्नु पर्छ ।
मुखले होइन व्यवहारमा नि लिन सक्नु पर्यो
ठकुरीको छोरी कामीलाई दिन सक्नु पर्यो
मन्दिरमा सबको हातको दियो जल्नु पर्छ
तिर्खा लाग्दा एक अर्कामा पानी चल्नु पर्छ
रगत सबको रातै
बोली र व्यवहारबीचको खाडल नै जातीय समानताको लडाइँमा अहिले मुख्य बाधा बनेर उभिइरहेको छ । कम्युनिस्टहरु साम्यवादी समाजका प्रवर्तक हुन् । जातीय समानताका पक्षपाती हुन् । वैज्ञानिक भौतिकवादी विचारलाई आत्मसात् गरेका सचेत मानिसहरु हुन् । सम्पूर्ण व्यक्तिगत लोभ–लालच, महत्त्वाकांक्षा र कुविचारबाट मुक्त भएपछि नै एउटा व्यक्ति कम्युनिस्ट भएको मानिन्छ ।
तर, आफुलाई कम्युनिस्ट बताउने कतिपय मानिसहरु वास्तबमा कम्युनिस्ट बन्न नसकेको उसको व्यवहारले प्रस्ट पारिरहेको हुन्छ । भाषण, प्रशिक्षण र लेख रचनाहरुमा उच्च क्रान्तिकारी भाव घन्काउनेहरु नै व्यवहारमा पुरातन विचार र संस्कारबाट अझै मुक्त हुन सकेकाे छैन । आफुलाई कम्युनिस्ट बताउने उच्च तहका नेताले सामन्तको नाइकेलाई विष्णुको अवतार मानेर पाउमा दाम चढाएको, ग्रहदशा कटाउन भैंसी पूजा गरेको, विवाहपछि पहिलोचोटी ससुराली जाँदा खसी डोर्याउँदै गएको, यस्ता कैयौं घटनाहरु हामीले देखेका छौं ।
दमाइ दाइले लुगा सिलाइ शरीर छेक्नु पर्ने
तिनै दाइले छुँदा किन सुनपानीले छर्ने
दलित कोटा होइन अब गरिब कोटा बनाउ
सानो ठूलो जात हुँदैन व्यवहारबाट जनाउ
रगत सबको रातै
छुवाछुत र जातीयताको यो पर्खाल बास्तबमा समाजका हुनेखाने सामन्ती वर्गले दीनदुःखीलाई एकजुट हुन नदिन, आफ्नो लुटको स्वर्गलाई बचाइराख्न खडा गरेको पर्खाल हो । यो जात ठूलो, त्यो जात सानो भन्ने शासकहरुले आफ्नो शोषण सत्तालाई जोगाइराख्न बसालेको थिति मात्र हो । जुनसुकै जात भित्र पनि शोषक र शोषित वर्ग हुन्छन् । जुनसुकै जातको भए पनि शोषकहरुको स्वार्थ मिलेको हुन्छ । उनीहरु मिलेरै दीनदुःखीलाई लुटिरहेका हुन्छ्न् ।
लोक गायक हेमन्त कान्छा र सर्जक सपना रसाइलीलाई बधाई । भिडियोमा हेमन्तलाई वरिष्ठ लोकगायिका देवी घर्तीले साथ दिएकी छन् ।। संगीत संयोजन र भिडियो निर्देशन हेमन्तकै रहेको छ । भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । हेमन्तकै युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतमा सुरवीर पण्डित , अन्जु निरौला, हेमन्त कान्छा, रबिना भण्डारी, चक्र साउद आरसी, दीपा गुरुङ, देवेन्द्र भण्डारी, रबिना गुरुङलगायत करिब दुई दर्जन कलाकारको अभिनय रहेको छ ।
