काठमाडौँ, ६ फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई केन्द्रीय कार्यसमितिको चुनाव स्थगित गर्न निर्देशन दिएको छ ।
राखेपका सङ्घ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै चैत १३ गते झापामा हुन लागेको चुनाव स्थगित गर्न निर्देशन दिनुभएको हो ।
राखेपले आवश्यक स्वीकृति नलिइएको उल्लेख गर्दै तत्काल चुनाव रोक्न र तीन दिनभित्र लिखित जानकारी गराउन भनेको छ । पत्रमा निर्देशन अवज्ञा गरी प्रक्रिया अघि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
यसैबीच, पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई लिगमा सहभागी गराएको विषयमा अध्यागमन विभागले छानबिन थालेपछि एन्फाको आयोजनामा भइरहेको पुरुष तथा महिला दुवै लिग स्थगित गरिएको छ ।