भर्खरै : Sorry, your browser does not support inline SVG.

आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मुख्य बुँदा

आजदेखि भोलि बिहानसम्म चट्याङ्गसहित वर्षाको सम्भावना

लुम्बिनी र कोशीमा तीव्र हावाहुरीको पूर्वानुमान

केही स्थानमा भारी वर्षा र हिमपात सम्भावना

हावाहुरीको वेग करिब ११९ किमि/घण्टा हुन सक्ने

प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

रुख ढल्ने, संरचना क्षति र सेवा अवरुद्ध हुने जोखिम

अनावश्यक यात्रा नगर्न र सुरक्षित रहन सुझाव

काठमाडौँ, ६ फागुन । आज दिउँसोदेखि भोलि बिहानसम्म देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमानअनुसार लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना पनि रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा सामान्यतया बदली रहेको छ भने सुदूरपश्चिम, कर्णाली र कोशीका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात भइरहेको छ ।

विभागका अनुसार शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्ज आसपासका तराई क्षेत्रमा शुक्रबारदेखि तथा शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ, जसको वेग करिब ११९ किलोमिटर प्रतिघण्टा हुन सक्ने बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम परिवर्तनसँगै आउन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

पछिल्ला दिनहरूमा हावाहुरीका कारण जनधनको क्षति भएको उल्लेख गर्दै प्राधिकरणले जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विशेष कामबिना यात्रा नगर्न, हावाहुरीका बेला घरका झ्यालढोका बन्द गर्न, आगोका स्रोत बन्द राख्न तथा सवारीसाधन सुरक्षित स्थानमा रोक्न सुझाव दिइएको छ ।

त्यस्तै, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न, लत्रिएका बिजुलीका तार नछुन तथा विद्युतीय उपकरण प्रयोगमा सावधानी अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.