भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको अवरोध, उपत्यकाको फोहोर थुप्रिन सक्ने

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको अवरोध, उपत्यकाको फोहोर थुप्रिन सक्ने

नुवाकोट, २९ फागुन । स्थानीय बासिन्दाको अवरोधपछि नुवाकोटको बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाबाट ल्याइने फोहोर विसर्जन पुनः रोकिएको छ । विगतमा सरकार र सम्बन्धित निकायसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर फाल्न नदिएको बताएका छन् ।

बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग भएका सम्झौता पूरा नभएसम्म फोहोर व्यवस्थापन कार्य अघि बढ्न नदिने अडान लिएका छन् । यही कारण काठमाडौँबाट फोहोर बोकेर पुगेका गाडीहरूलाई स्थानीयले फिर्ता पठाएका छन् । स्थानीय निरञ्जन सञ्जेलका अनुसार पटक–पटक सहमति भए पनि ती कार्यान्वयन नभएको गुनासो छ । उनका अनुसार विगतका सम्झौता पूरा नभएसम्म अवरोध हट्ने सम्भावना छैन । स्थानीयको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताएका छन् ।

यसअघि गत कात्तिक १६ गते तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयसँग भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धतापछि केही समयका लागि फोहोर व्यवस्थापनमा देखिएको अवरोध हटेको थियो । तर स्थानीयका अनुसार उक्त प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएकाले फेरि विरोध सुरु गरिएको हो ।

अहिले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १, ३ र ४ का स्थानीय प्रभावित क्षेत्रमा विरोधमा उत्रिएका छन् । उनीहरूले दुई जिल्लाको सीमामा पर्ने ढाँडेस्थित सडकमा बसेर फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडा पुग्न दिएका छैनन् । स्थानीय आन्दोलनमा प्रभावित क्षेत्रका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले पनि समर्थन जनाएका छन् । ककनी, बेलकोटगढी तथा धुनिबेँसीका केही जनप्रतिनिधि र दलका नेताहरूले स्थानीयको माग सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन् ।

काठमाडौँ उपत्यकाको दैनिक फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा मुख्य विसर्जन स्थल मानिन्छ । यहाँ अवरोध हुँदा राजधानीका विभिन्न स्थानमा फोहोर थुप्रिन सक्ने अवस्था देखिन्छ । यदि समस्या छिट्टै समाधान नभए उपत्यकामा सरसफाइ व्यवस्थापनमा गम्भीर समस्या देखिन सक्ने सरोकारवालाहरूले बताएका छन् ।