भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

‘पिङमा मच्चिनुको मज्जा नै बेग्लै हुन्छ’

‘पिङमा मच्चिनुको मज्जा नै बेग्लै हुन्छ’

मुख्य बुँदा 

शरद ऋतु सुरु भएसँगै दशैंको माहोलले म्याग्दीका गाउँघरमा रौनक बढ्यो।

विदेश र सहरबजारमा बस्नेहरू दशैं मनाउन जन्मथलो फर्किएपछि गाउँभर चहलपहल।

लिङ्गे र रोटे पिङ खेल्दै रमाउने परम्परा अझै जीवित।

दशैंमा आफन्त–साथीसँगको भेटघाटले गाउँमा आत्मीयता र उत्साह।

कोतघरहरूमा लाग्ने मेला, नवदुर्गा पूजा र सामूहिक सरसफाइले मौलिकता झल्कायो।

बसाइँसराईले जनसंख्या घटेपनि दशैंमा गाउँघर युवाले भरिने।

“पिङमा मच्चिनुको मज्जा नै बेग्लै हुन्छ” भन्दै गाउँ फर्किएका युवाहरू।

म्याग्दी, १५ असाेज । वर्षा कम हुँदै गएपछि शरदमा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिँदाको आनन्द ।

शरद्यामको मौसमसँगै चाडपर्वले मानिसहरुको मनमा उमंग छाएको छ । सहरबजार र विदेशिएकाहरु दशै पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघरमा रौनक छाएको छ । रोजगारी, अध्ययन, पेसा र व्यवसायका लागि सहरबजार झरेका र विदेशिएकाहरु जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेल बताउँछन् ।

‘अघिपछि गाउँघरमा युवाहरु नभएपनि विदेसिएका र सहर पसेका आफन्तहरु गाउँ फर्केपछि रौनक छाएको छ,’ उनी भन्छन्, ‘चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाइ र इष्टमित्रहरुको मिलन गराउँदा उमंग छाएको छ ।‘

६ वटा स्थानीय तहका ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । २०६८ पछिको १० वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो । गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरु सहर पस्ने तथा विदेसिने क्रम बढेको छ ।

आर्थिक वर्ष २०८१र८२ मा म्याग्दीका स्थानीय तहहरुमा ८९ परिवार बसाइँसराई गरेर आउँदा २४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् । अन्य समय विद्यालय उमेरका बालबालिका र जेष्ठ नागरिकहरु बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरुको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दसैँ मनाउन कोरियाबाट जन्मथलो फर्केका छन् ।

‘चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर न्यास्रो लाग्थ्यो’, उनी भन्छन्, ‘उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाइ, आफन्तजन र छिमेकीहरुसँगको आत्मीयता विदेशमा हुँदैन ।‘ सहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सीमित हुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुकेको हुन्छ ।

आफन्त, साथीभाइ र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानिया बताउँछन् । दसैँमा गरिने नवदुर्गाकव पूजा, कोतमा लाग्ने मेला, पिङले गाउँघरको दसैँ खास बनाउने रघुगङ्गा–४ दग्नाम स्थित घरमा दसैँ मान्न आएकी सोनालिका गर्बुजा बताउँछिन् ।

‘बच्चा हुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्ग पिङ हालेका छौँ’, पोखराबाट दसैँ मनाउन धवलागिरी गाउँपालिका–७ हिलापोखरीस्थित जन्मथलोमा आएका खुम पुन भन्छिन्, ‘बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचहुई‘। गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ ।

गाउँको बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाइ गरिएको छ । प्रायजसो गाउँका कोतघरहरुमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसे-चौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।

 


Thali Mobile Pvt.Ltd.