भर्खरै : Sorry, your browser does not support inline SVG.

स्ट्रेट अफ होर्मुजमा फेरि तनाव: इरानको चेतावनी–पार गर्न खोजे जहाजमाथि आक्रमण हुन्छ

स्ट्रेट अफ होर्मुजमा फेरि तनाव: इरानको चेतावनी–पार गर्न खोजे जहाजमाथि आक्रमण हुन्छ

काठमाडौं, ६ वैशाख । विश्वकै अत्यन्त संवेदनशील इन्धन ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज पुनः अन्तर्राष्ट्रिय तनावको केन्द्र बनेको छ । इरानले जलमार्ग बन्द गर्ने घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार जारी गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुज पार गर्न खोज्ने जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको हो । साथै फारसको खाडी र ओमान सागर बाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने स्पष्ट पारेको छ ।

यसअघि पाकिस्तान को मध्यस्थतामा अमेरिका र इरानबीच भएको वार्तामा जलमार्ग खुला गर्ने सहमति भएको बताइएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथिको नाकाबन्दी यथावत् रहने बताएपछि अवस्था फेरि तनावपूर्ण बनेको हो ।

ट्रम्पले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै झुटो आरोप लगाएको प्रतिक्रिया दिएको छ । साथै नाकाबन्दी हटाउनुपर्ने माग पनि दोहोर्‍याएको छ ।

वार्तापछि अस्थायी रूपमा जलमार्ग खुला गरिएको घोषणा भएको २४ घण्टा नबित्दै पुनः बन्द गर्ने चेतावनी आएपछि अन्तर्राष्ट्रिय बजारमा असर पर्ने चिन्ता बढेको छ । सहमतिको खबर सार्वजनिक हुँदा कच्चा तेलको मूल्य घटेको थियो ।

इरानका संसद् सभामुख मोहम्मद बाकर गालिबाफ ले स्ट्रेट अफ होर्मुज इस्लामिक गणतन्त्रको नियन्त्रणमा रहेको दाबी गरेका छन् । उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘अपरिपक्व र अज्ञानतापूर्ण निर्णय’ भन्दै आलोचना गरेका छन् ।

अर्कोतर्फ ट्रम्पले इरानले जलमार्ग बन्द गरेर ‘ब्ल्याकमेल’ गर्न नसक्ने चेतावनी दिएका छन् । उनले तोकिएको समयभित्र सहमति नभए युद्धविराम अन्त्य गरिने र नाकाबन्दी जारी रहने बताएका छन् । साथै ठूलो सम्झौता नभए इरानमाथि पुनः सैन्य कारबाही हुन सक्ने संकेत दिएका छन् ।

युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स का अनुसार शनिबार इरानले भारतीय दुई व्यावसायिक जहाजमाथि गोली चलाएको थियो । भारत ले पनि आफ्ना जहाज ‘फायरिङ’ घटनामा परेको पुष्टि गरेको छ ।

क्षेत्रका अन्य जहाजहरूले पनि आईआरजीसीबाट रेडियोमार्फत चेतावनी सन्देश प्राप्त गरेको जनाइएको छ । विश्लेषकहरूका अनुसार अहिले अवस्था ‘दुई प्रतिस्पर्धी नाकाबन्दी’ जस्तो बनेको छ—एकातर्फ अमेरिकाको इरानमाथि नाकाबन्दी र अर्कोतर्फ इरानद्वारा स्ट्रेट अफ होर्मुज बन्द गर्ने निर्णय ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरा का अनुसार इरानले यो जलमार्गलाई रणनीतिक दबाबका रूपमा प्रयोग गरिरहेको देखिन्छ । वार्ता अनिश्चित बन्दै जाँदा आफ्नो प्रभाव देखाउन इरानले यस्तो कदम चालेको विश्लेषण गरिएको छ ।

विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बढ्दो तनावले ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष असर पर्ने चिन्ता बढाएको छ ।

 

Mohotsav


Thali Mobile Pvt.Ltd.