एजेन्सी, ११ मंसिर । अमेरिकाका विभिन्न क्षेत्रमा शक्तिशाली आँधी, भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । खराब मौसमले हवाई सेवा, सडक यातायात र विद्युत् आपूर्तिमा ठूलो असर पारेको छ ।
थ्याङ्क्सगिभिङ पर्वका अवसरमा आएको आँधीका कारण अमेरिकाभर ९ लाखभन्दा बढी घर तथा व्यावसायिक प्रतिष्ठानमा विद्युत् सेवा अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उडान अनुगमनसम्बन्धी तथ्याङ्कअनुसार बिहीबार साँझसम्म अमेरिकाभित्र, अमेरिकाबाट र अमेरिकातर्फ हुने २ हजारभन्दा बढी हवाई उडान ढिला भएका थिए भने ४२० भन्दा बढी उडान रद्द भएका थिए ।
आँधीका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी वर्षा, तीव्र हावाहुरी र बाढी आएको छ । भर्जिनियालगायत क्षेत्रमा प्रतिघण्टा ७० माइलभन्दा बढीको गतिमा हावा चलेको विवरण सार्वजनिक भएको छ । केही क्षेत्रमा सडक तथा पुल बन्द हुँदा यातायात प्रभावित भएको छ ।
थ्याङ्क्सगिभिङ बिदाका समयमा लाखौँ अमेरिकी यात्रा गरिरहेका बेला खराब मौसमले यात्रुहरूलाई थप समस्यामा पारेको छ । यस अवधिमा ८ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अनुमान गरिएको थियो । प्रतिकूल मौसमका कारण न्यूयोर्कमा आयोजना हुने प्रसिद्ध ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ पनि स्थगित गरिएको छ । सय वर्षको इतिहासमा पहिलोपटक मौसमका कारण स्थगित भएको उक्त परेड अब नोभेम्बर २८ अर्थात् शनिबार आयोजना गरिने भएको छ ।
न्यूयोर्कका मेयर जोहरान माम्दानीले आँधी र बाढीका कारण रुखका हाँगा तथा बिजुलीका तार खस्न सक्ने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।
स्थानीय अधिकारीहरूले बाढीग्रस्त सडकमा यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र मौसमसम्बन्धी सूचनामा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेका छन् । आँधीका कारण अमेरिकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति, हवाई तथा सडक यातायात र सार्वजनिक कार्यक्रम प्रभावित भएका छन् ।
