भर्खरै : Sorry, your browser does not support inline SVG.
घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता | जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने, तराईमा हुस्सु र कुहिरोको सम्भावना | चीन र भारतसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने अमेरिकी प्रस्ताव | गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी |

चीन र भारतसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने अमेरिकी प्रस्ताव

चीन र भारतसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने अमेरिकी प्रस्ताव

वासिङ्टन, ९ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन, भारत र युरोपेली संघसहित १४ व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले आठ महिनासम्म गरेको अनुसन्धानपछि बुधबार नयाँ शुल्क प्रस्ताव सार्वजनिक गरेको हो । अमेरिकाले लक्षित देशहरूले औद्योगिक उत्पादनमा अत्यधिक क्षमता सिर्जना गरी विश्व बजारमा सस्तो सामान पठाएको र त्यसले अमेरिकी उद्योग तथा श्रमिकलाई असर गरेको आरोप लगाएको छ ।

प्रस्तावमा चीन, बङ्गलादेश, कम्बोडिया, युरोपेली संघ, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड र भियतनाम समेटिएका छन् ।

प्रस्तावित दरमध्ये चीनका वस्तुमा २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने योजना छ । चीनसँगको व्यापारिक सहमति कायम रहन नसके यो दर ४० प्रतिशतसम्म पुग्न सक्ने अमेरिकी पक्षले जनाएको छ । भियतनामका वस्तुमा व्यापार सम्झौता भए २० प्रतिशत र सम्झौता नभए ३५ प्रतिशतसम्म शुल्क लाग्न सक्नेछ ।

भारतका हकमा पनि सम्झौता भए १७ प्रतिशत र सम्झौता नभए २५ प्रतिशतसम्म शुल्कको प्रस्ताव गरिएको छ । अन्य देशका लागि भने यसअघि भएका व्यापारिक सहमतिअनुसार शुल्कको सीमा फरक–फरक रहनेछ । युरोपेली संघ, जापान, दक्षिण कोरिया र ताइवानका लागि १५ प्रतिशतको सीमा तथा मलेसियाका लागि १९ प्रतिशतको सीमा कायम रहने बताइएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्क प्रस्तावले अमेरिकी श्रमिक र उत्पादकलाई समान प्रतिस्पर्धाको अवसर दिने दाबी गरेका छन् । उनका अनुसार केही देशले अनुदान, औद्योगिक नीति र अन्य बजार प्रभावित पार्ने अभ्यासमार्फत उत्पादन क्षमता बढाउँदा अमेरिकी उत्पादन क्षेत्र प्रभावित भएको छ ।

अमेरिकी सर्वोच्च अदालतले यसअघि ट्रम्प प्रशासनले आपत्कालीन अधिकार प्रयोग गरी लगाएका व्यापक भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि प्रशासनले नयाँ कानुनी आधारमा शुल्क अघि बढाउन अनुसन्धान थालेको थियो । यसपटकको प्रस्ताव सन् १९७४ को व्यापार ऐनअन्तर्गतको दफा ३०१ अनुसार अघि बढाइएको हो ।

तर प्रस्तावित शुल्क तत्काल लागू हुने छैनन् । यसमा सार्वजनिक प्रतिक्रिया सङ्कलन र सुनुवाइको प्रक्रिया पूरा गर्नुपर्नेछ । लिखित सुझाव बुझाउने अन्तिम मिति सन् २०२७ जनवरी ५ तोकिएको छ भने सुनुवाइ जनवरी २५ देखि सुरु हुने जनाइएको छ । त्यसपछि मात्रै अन्तिम निर्णय हुने भएकाले शुल्कको दर र लागू हुने समय परिवर्तन हुन सक्नेछ ।

अर्थशास्त्रीहरूले भन्सार शुल्कले आयात लागत बढाउन सक्ने र त्यसको भार व्यवसायीले उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् । यसले अमेरिकाभित्र महँगी बढाउनुका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन र रोजगारी वृद्धि गर्ने उद्देश्यले भन्सार शुल्कलाई व्यापार नीतिको प्रमुख औजारका रूपमा अघि सार्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.