भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, १ चैत्र । पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् ।

सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । रासस