भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

१६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङशान्तिपुर सडक

१६ वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङशान्तिपुर सडक

बागलुङ । ​बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुर जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन। दक्षिण बागलुङलाई मुख्य शहरसँग जोड्न २०६४ मा ट्रयाक खुलाइएको थियो। खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । दुवै याममा स्थानीयले सास्ती खेप्नुपरेको छ। राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी(ढोरपाटन सडक भए पनि बरेङ गाउँपालिकासँग जोडिएका छैनन् तर गाउँपालिकाले कालीगण्डकी करिडोरसँग जोड्न सडक निर्माण गरिसकेको छ।

दुई जिल्लालाई जोड्ने यो सडकलाई दक्षिण बागलुङ ‘व्यापारिक सडक’का रूपमा लिइन्छ। बरेङ क्षेत्रका लागि जिल्ला सदरमुकाम बागलुङ बजार अपायक पर्छ। प्रशासनिक कामबाहेक यहाँका अधिकांश स्थानीय बुटवल जाने गर्छन्। दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने सडकको दुरावस्था सम्बोधनका निम्ति राज्यको नजर नपरेकामा स्थानीय खिन्न छन्।

गाउँपालिकाले बरेङडाँडाबाट पालिकाको कार्यालय सुँडालासम्म सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण र ग्याबिन उठाइएको छ । सडक कालोपत्र गर्न बजेट अभाव भएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले दुखेसो गरे। कालोपत्रका लागि धेरै बजेट लाग्ने तर पालिकाको बजेटले नभ्याउने उनले बताए। गुल्मीको शान्तिपुर र बुटवल व्यापार तथा अन्य कामका लागि नजिक भएकाले आवतजावत बाक्लो हुने सडक अपरिहार्य भएको उनको भनाइ छ।

‘यो सडक बाह्रै महिना सञ्चालन हुन्छ, तर निकै साँघुरो र अप्ठ्यारो छ, यस्तो सडकमा दुर्घटना हुने जोखिम उच्च हुन्छ, सडकलाई व्यवस्थित गरी कालोपत्र गर्न केन्द्र र प्रदेश सरकारसँग माग गर्दै आएका छौँ’, उनले भने, ‘पालिकाको बजेटले पुग्दैन, तर समय–समयमा साँघुरो सडकलाई फराकिलो बनाएर सवारीसाधन सञ्चालन गर्ने गरेका छौँ, करिब दुई–तीन किलोमिटर कालोपत्रका लागि तयार पनि गरेका छौँ, बजेट अभावले काम हुनसकेको छैन।’रासस

 


Thali Mobile Pvt.Ltd.