भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ ।

आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको बताए ।

कुम्भमेला प्रारम्भ हुनु पाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने उनले बताए । उनले भने, “१२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलालाई सफल बनाउन कुम्भ क्षेत्रमा मदिरा र माछामासु नबेच्न अनुरोध गरेका छौँ ।”

उनले मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न आग्रह गरिएको बताए। मेला मूल आयोजक समितिका उपाध्यक्ष बराहक्षेत्र– २ का वडाध्यक्ष होमप्रसाद गौतमले मेला तयारीसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनले कुम्भमेलाले बराहक्षेत्र र धरान तथा आसपासका क्षेत्रको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताए ।

हरेक १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलाका बेला धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गर्न समितिले आग्रह गरेको छ । भारतका चार स्थान इलाहावाद ९उत्तर प्रदेश०, उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड) मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।

बराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.