काठमाडौं । गुरुङ समुदायले नयाँ वर्ष (तमु ल्होसार) धुमधामका साथ मनाइरहेका छन् । नयाँ वर्षका रुपमा गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की लगायतका जिल्लाहरुमा तमु ल्होसार भव्यताका साथ मनाउने गर्दछन् ।
त्यस्तै देशका विभिन्न ठाउँबाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने गुरुङ समुदायले भने शुक्रबार टुँडिखेलमा भव्यताका साथ यो पर्व मनाइरहेका छन् । गुरुङ समुदायको संस्कृति झल्काउने उद्देश्यले विभिन्न पोशाकसहित ¥याली गरेर सांस्कृतिक कार्यक्रममा सहभागि हुन उपस्थित भएका छन् ।
सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् ।
तमु ल्होसार
तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । गुरुङ समुदायमा ल्होसार भनेको नयाँ वर्ष हो । पुस महिनाको १५ गतेलाई आधार मानेर यस मनाइने चलन रहेको छ । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।
पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरि यसलाई मनाउन सुरू गरिन्छ । ल्होसारको दिन गुरुङ समुदायले बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाउने गर्दछन् । गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा (शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् । यता पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।
घाटु, सोरठी भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्ने गर्दछन् । विश्वका विभिन्न देशहरू जस्तै– बेलायत, अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत आदि देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ । देश विदेश विभिन्न ठाउँमा पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भव्य तरिकाले मनाउँने गर्दछन् ।

