भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी

मुख्य बुँदा

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंसिर ३ देखि ९ गतेसम्म सञ्चालन भई सम्पन्न ।

८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी ।

टेबलटेनिसदेखि बाघचालसम्म १५ विधाका खेल सञ्चालन ।

विभिन्न खेलका विजेता तथा उत्कृष्ट खेलाडीलाई पदक, प्रमाणपत्र र पुरस्कार वितरण ।

सहभागी विद्यालयलाई खेलकुद सामग्रीसमेत प्रदान ।

भक्तपुर, १० मंसिर । भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर ३ गतेदेखि ९ गतेसम्म सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८३ बुधबार सम्पन्न भएको छ ।

सहिद स्मृति खेल मैदानमा आयोजित समापन समारोहमा विभिन्न खेलका विजयी खेलाडी तथा विद्यालयलाई पदक, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा नगरभित्रका ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

प्रतियोगितामा टेबलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, जिम्नास्टिक, पोर्टबल, कसिमला पाँय र बाघचाललगायतका खेल सञ्चालन गरिएको थियो ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले खेलाडी र खेलप्रेमीलाई एउटै मञ्चमा सहभागी गराउने प्रतियोगिता आयोजना गरेकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले खेलकुदलाई मौलिक हकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै संविधान निर्माणका क्रममा नेमकिपाले खेलकुदलाई मौलिक हकमा समावेश गर्न संशोधन प्रस्ताव राखेको स्मरण गर्नुभयो ।

देशका सबै विद्यालय तथा कलेजमा खेलकुदका पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै उहाँले नयाँ पुस्ता अध्ययन, सिर्जना र देश निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो । खेलकुदमा हारजित क्षणिक हुने तर खेलका माध्यमबाट विकास हुने मित्रता दीर्घकालीन रहने उहाँको भनाइ थियो ।

कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्नुभयो । शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने उद्देश्यले नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै उहाँले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटन र सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य सृजना सैँजूले तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भएर प्रतियोगिता सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । प्रतियोगितामा ५० प्रतिशतभन्दा बढी छात्राको सहभागिताले समाजको विकासक्रमलाई प्रतिबिम्बित गरेको बताउँदै उहाँले डिजिटल युगमा खेलकुदको महत्त्व अझ बढ्दै गएको धारणा राख्नुभयो । खेलकुदले नयाँ पुस्तालाई अनुशासित, सक्रिय र समाजप्रति समर्पित बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रतियोगितामा ८४ विद्यालय सहभागी भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभिन्न खेलका लागि १४० वटा ट्रफी तथा एक हजार १२० वटा प्रमाणपत्र र पदक वितरण गरिनेछ । विद्यार्थीको चौतर्फी विकासका लागि नगरपालिकाको युवा तथा खेलकुद समिति सधैँ सक्रिय रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषणा गर्नुभएको थियो । प्रमुख अतिथि सुवाललगायत अतिथिहरूले विभिन्न खेलका उत्कृष्ट खेलाडी तथा विद्यालयलाई पदक र प्रमाणपत्र वितरण गर्नुभयो । सहभागी विद्यालयलाई खेलकुद सामग्रीसमेत प्रदान गरिएको थियो । समापन समारोहमा गणेश माध्यमिक विद्यालय, प्रभात इङ्ग्लिस स्कुल र बाल विकास इङ्ग्लिस स्कुलका विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.