चितवन, १० मंसिर । एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानका रूपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो । तर, चितवनमा वन्यजन्तु अवलोकनको अवसर राष्ट्रिय निकुञ्जमा मात्र सीमित छैन ।
निकुञ्जको मुख्य क्षेत्रबाहिर रहेका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनमा पनि विभिन्न वन्यजन्तु देखिने गरेका छन् । यस्ता वनक्षेत्रले चितवनको प्रकृति तथा वन्यजन्तु पर्यटनलाई थप विविधता दिएका छन् ।
सामुदायिक वनमा वन्यजन्तु अवलोकन गर्न सकिने सम्भावनाले पर्यटकका लागि नयाँ गन्तव्यको अवसर सिर्जना गरेको छ । यसले स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन गर्नुका साथै वन संरक्षणको महत्वसमेत बढाएको छ ।
निकुञ्जबाहिरका सामुदायिक वनमा वन्यजन्तुको उपस्थितिले चितवनको पर्यटनलाई थप विस्तार गर्न सक्ने देखिएको छ । वन संरक्षण र पर्यटन गतिविधिलाई सँगसँगै अघि बढाउन सके स्थानीय समुदायले पनि आर्थिक तथा सामाजिक लाभ लिन सक्नेछन् ।
