भर्खरै : Sorry, your browser does not support inline SVG.

पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना

पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना

मुख्य  बुँदा

नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल्स पुनः सञ्चालन गर्ने सरकारको तयारी ।

स्वदेशी तथा विदेशी लगानीकर्तासँग ३५ दिनभित्र आशयपत्र माग ।

नेपाल, भारत, बङ्गलादेश र चीनका कम्पनीले प्रस्ताव दिन सक्ने ।

दैनिक १२५ टन जुट तथा जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य ।

पूर्ण क्षमतामा सञ्चालन भए पाँच सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने अनुमान ।

विराटनगर, १० मंसिर । लामो समयदेखि बन्द रहेको नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल्स पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेको छ । यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा जुट मिल्स सञ्चालनका लागि ३५ दिनभित्र आशयपत्र पेस गर्न आह्वान गरिएको हो । सरकारले सार्वजनिक–निजी साझेदारीको मोडेलमा उद्योग सञ्चालन गर्ने योजना बनाएको छ ।

जुट मिल्स सञ्चालक समितिका अध्यक्ष नन्दलाल देवकोटाका अनुसार नेपाल, भारत, बङ्गलादेश र चीनका कम्पनीले उद्योग सञ्चालनका लागि प्रस्ताव पेस गर्न सक्नेछन् । नेपालमा जुट उद्योग सञ्चालन गरिरहेका व्यवसायीले विदेशी कम्पनीसँग साझेदारी गरेर पनि प्रस्ताव दिन पाउनेछन् ।

नयाँ लगानीकर्ताले आधुनिक प्रविधि प्रयोग गरी उद्योग सञ्चालन गर्नुपर्नेछ । दैनिक १२५ टन जुट तथा जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन भए पाँच सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । विसं १९९३ मा स्थापना भएको विराटनगर जुट मिल्स नेपालको पहिलो आधुनिक उद्योग हो । उद्योगले पटक–पटक बन्द र पुनः सञ्चालनको अवस्था भोग्दै आएको छ ।

भारतीय कम्पनीले सञ्चालन छाडेपछि विसं २०७२ भदौ १९ गते मिल पूर्ण रूपमा बन्द भएको थियो । करिब तीन वर्षपछि विसं २०७४ मंसिर १० गते नयाँ व्यवस्थापनले पुनः सञ्चालनमा ल्याएको थियो । त्यसबेला ८५ जनाले रोजगारी पाएका थिए । तर, सञ्चालनमा आएको केही महिनामै पुँजी अभाव र विद्युत् महसुल तिर्न नसक्ने समस्याका कारण उद्योग फेरि बन्द भएको थियो ।

यसरी पटक–पटक सञ्चालनमा ल्याउने प्रयास भए पनि उद्योगले निरन्तर उत्पादन गर्न सकेको छैन । लामो समयदेखि बन्द रहेको मिल पुनः सञ्चालनमा ल्याउने सरकारको पछिल्लो प्रयासले उद्योगको भविष्यबारे नयाँ आशा जगाएको छ । सरकारले लगानीकर्ता छनोट गरी आधुनिक प्रविधिसहित उद्योग सञ्चालन गर्न सके जुट उत्पादन, रोजगारी सिर्जना र औद्योगिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.