काठमाडौं । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ ।
नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए ।
विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको थियो ।
दक्षिण–पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको असरले गर्दा वर्षा भएको जनाएको छ ।
महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।