काठमाडौँ । देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गर्दा उक्त कुरा जानकारीमा आएको हो ।
अनुगमनपश्चात् जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताए । सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छपाइको काम सम्पन्न गरी बिक्री वितरण गरिहरेको जनाएको छ ।
अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङका जिल्लाहरूमा समेत पाठ्यपुस्तक पुगिसकेको छ । केन्द्रले १ करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेको जनाएको छ ।