काठमाडौं, २२ फागुन । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित हासिल गरेको छ । रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) भारी मतान्तरसहित विजयी बनेकी हुन् ।
पछिल्लो मतपरिणामअनुसार रञ्जु न्यौपानेले १४ हजार ४ सय ९१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी प्रबल थापाले ६ हजार ७ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन रेग्मीले १ हजार ४ सय ६१ मत पाएका छन् ।
मतगणना अन्तिम चरणमा पुगेको र अबको केही समयमै सबै परिणाम सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत चुरामणि खड्काले जानकारी दिएका छन् । औपचारिक घोषणा भने केहीबेरमा गरिने बताइएको छ ।
काठमाडौं–१ बाट रास्वपाको यो जितलाई पार्टीका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।