काठमाडौं । नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो ।
असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको चाप बढीरहेको छ ।काठमाडौंका भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएका छन् ।मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएको देख्न सकिन्छ ।
बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको छ । तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।
विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो ।
लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ । त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ ।
यी क्षेत्र लगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरुमा पनि तिहारमा चाहिने सामान किन्नेहरुको चहलपहल शुरु भएको छ । सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ । यमदीपदान शुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाई टीका मनाउने गरिन्छ ।