२७ साउन २०७७ भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालको बिदाई गरिएको छ ।
भादगाउँले टोपी लगाइदिएर भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशन तथा मायाको चिनोस्वरुप प्रदान गरी नगर प्रमुख सुनिल प्रजापतिले अधिकृत बस्याललाई बिदाइ गरेका हुन । जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्न हौसला दिदै प्रजापतिले आगामी दिनहरुमा सफल कार्यकालको कामना गरे ।
निकै छोटो अवधिमै सरुवा भइदिँदा नगरपालिकालाई काम गर्न अप्ठेरो भएको नगरले महशुस गरेको छ । कार्यक्रममा अधिकृत बस्यालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणमा उल्लेखनीय काम गरिरहेको र भक्तपुर नपामा सात महिनाको कार्यकाल निकै फलदायी र स्मरणीय भएको बताए ।
देशकै नमूना नगरपालिकामा बसी काम गर्न पाउनु गौरवको विषय भएको भन्दै उनले भक्तपुर नगरपालिकाको कार्यशैलीबाट आफू प्रभावित भएको बताए । अधिकृत बस्याल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भई जाँदै छन् ।
