भक्तपुर । प्रत्येक वर्ष दसैंको अवसरपारी हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन)को आज उद्घाटन हुदैछ । असोज २१ र २२ गते दुई दिन सम्मेलनको आयोजना गरिएको छ । जनता म्वासा भाषा म्वाई अर्थात जनता रहे भाषा रहन्छ भन्ने नाराका साथ भक्तपुरमा बृहत सम्मेलनको ४२ औं श्रृंखला भक्तपुर नगरपालिका वडा नं १ भार्वाचोमा आयोजना गरिएको आयोजकले जनाएको छ ।
४२औं नेपालभाषा साहित्य तःमुज्या आयोजक समितिका संयोजक एवं भक्तपुर नगरपालिका १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले पहिलो दिनको सभापति शिक्षक ज्ञानसागर प्रजापति र दोस्रो दिनको सभापति भक्तपुर सूर्यविनायक नगरपालिकाकी चानुमति खुलीमुली रहने बताए । कार्यक्रमको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रहने छन् ।
कार्यक्रममा साहित्यकारले विभिन्न भाषामा रचना वाचन गर्ने कार्यक्रम राखिएको छ । कथा, कविता, निबन्धलगायतका विधाहरुमा प्रतियोगी तथा अप्रतियोगी रचना वाचन गरिनेछ।कार्यक्रमको बीच बीचमा साहित्य वाचनबाहेक विभिन्न व्यक्तित्वहरूले मन्तव्य दिने बताइएको छ । प्रगतिशील गीतको साथै नाटक, ख्याल र नृत्य पनि देखाइनेछ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा हुने सो साहित्यिक तथा सांस्कृतिक कार्यक्रम भने दिउसो १ः०० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । नेपालभाषाको साहित्यिक जगत्मा जनता म्वासा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने भनाइलाई आत्मसात गरी जनसाहित्य र संस्कृतिको उत्थान गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष
भइरहेको नेपालभाषा साहित्य तः मुंज्या यो वर्ष भक्तपुर नगरपालिका वडा नं. १ स्थित भार्वाचोमा हुन लागेको छ । भक्तपुरको विभिन्न टोलमा हुँदै आएको तःमुंज्या यो वर्ष ४२ औं वर्षमा पुगेको छ । तः मुंज्याका अध्यक्ष आशाकुमार चिकबन्जारले मन्तव्य दिने छन् । दोस्रो दिन तः मुज्याको सभापतित्व शिक्षासेवी ज्ञानसागर प्रजापतिले गर्ने छन् ।
उत्कृष्ट स्थानका साहित्यकारहरूलाई अतिथि बिजुक्छेले पुरस्कृत गर्ने बताइएको छ । कार्यक्रममा महिला नेतृ शोभा प्रधान र जनकवि चन्द्रबहादुर उलकलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ । पहिलो दिन आयोजक समितिका अध्यक्ष श्यामकृष्ण खत्री र दोस्रो दिन उपाध्यक्ष अम्बिका न्याइच्याईले स्वागत मन्तव्य दिने छन् ।
कार्यक्रममा आयव्ययको विवरण आयोजक समितिका कोषाध्यक्ष सूर्यप्रसाद श्रेष्ठले प्रस्तुत गर्ने जानकारी दिइएको छ । तःमुंज्याका सचिव नरेश खत्री र आयोजक समितिका सचिव लक्ष्मीसुन्दर सुवालले पनि मन्तव्य दिने कार्यक्रम रहेको छ । दुवै दिन बेलुका ८ बजेपछि सांस्कृतिक कार्यक्रम देखाइनेछ । यसैबीच आयोजक समितिले सम्मेलन सफल पार्न आग्रह गर्दै एक अपिल प्रकाशित गरेको छ ।
सम्मेलन सफल पार्न आयोजक समितिले विगतमा झै आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न र कार्यक्रममा उपस्थित हुन किसान, महिला, विद्यार्थी, युवा, शिक्षक, कर्मचारी, साहित्यकार, विभिन्न व्यवसायी, उद्योगी, व्यापारी, बुद्धिजीवी, शुभचिन्तक तथा सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ ।
नेपालभाषा साहित्य तः मुंज्या भाषिक, साहित्यिक, सांस्कृतिक तथा राजनीतिक दबु हो । दबाइएका भाषा, साहित्य र संस्कृतिको उत्थान गर्ने र शोषित पीडित कामदार वर्गका जनतालाई आमूल परिवर्तनको निम्ति एकताबद्ध एवम् सङ्गठित गर्ने तः मुंज्याको मूल लक्ष्य रहेको आयोजकले जनाएको छ ।