भक्तपुर । भूगोलको हिसावले सानो तर जनसंख्याका हिसावले अति ठूलो क्षेत्र मध्य भक्तपुरका संघका २ र प्रदेशका चार क्षेत्र रहेको यहाँ विशेषगरी नेमकिपा, नेकपा, एमाले र नेपाली काँग्रेसको नै प्रतिस्पर्धा हुने देखिएकाे छ ।
प्रतिनिधि सभाका २ क्षेत्र र प्रदेश सभाका लागि ४ वटा क्षेत्र रहेको भक्तपुरमा उम्मेदवारहरुले मनोनयन दर्ता सम्पन्न गर्दै गर्दाको आँकलन हेर्नेहो भने एक नम्वर क्षेत्र नेपाल मजदुर किसान पार्टीले लिने पक्का पक्कि नै देखिएको छ । तर निर्वाचन क्षेत्र नं २ मा भने गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
आइतवार निर्धारित समयमै मनोनयन दर्ता सम्पन्न गरेका उम्मेदवारहरु अब जनभेटघाटमा व्यस्त हुन थालेका छन् । निर्वाचन क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले उम्मेदवारी दिएका छन् । क्षेत्र नं १ प्रदेश ‘क’ चाँगु नारायण क्षेत्रमा मीनबहादुर बाटा र प्रदेश ख भक्तपुर नगर क्षेत्रमा जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले उम्मेदवारी दिए ।
यस अघिको निर्वाचनमा सुवाल र गोसाई दुबै निर्वाचित भएका थिए । नेमकिपाको गढलाई भत्काउन एमाले र गठबन्धन लागिपरेजस्तो देखिएपनि यहाँ कसैले केहि गर्न नसक्ने देखिएको छ । पाँचदलीय गठबन्धनबाट सुनिल गोठेले उम्मेद्वारी दिएका छन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका हुन ।
यता नेकपा (एमाले)ले निवर्तमान जिसस प्रमुख नवराज गेलाल उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन् । यहाँ राप्रपाबाट पूर्व जर्नेल भरत खड्का उम्मेदवार भएका छन् । राप्रपा नेपालबाट माधव खत्रीले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश ‘क’ चाँगुनारायण क्षेत्रमा गठबन्धनका सुरेश श्रेष्ठ उम्मेदवार बनेका छन् ।
काँग्रेस भित्रको भागबण्डा मिलाउँदा महासमिति सदस्य रहेका युवा नेता श्रेष्ठको भागमा उम्मेद्वारी परेको हो । गगन थापा निकट मानिने उनलाई प्रदेश मन्त्री रहेका कृष्णलाल भडेलवाट असहयोग हुन्छ कि भनेर लक काट्न थालिएको छ । किन कि यस क्षेत्रमा भडेल नै उम्मेद्वार बन्न कस्सिएका थिए । नेकपा एमालेका तर्फबाट मोहनवीर श्रेष्ठ उम्मेदवार बनेका छन् ।
राप्रपाले भने अधिवक्ता रहेका राजु कुइकेललाई उम्मेदवार बनाएको छ । यता प्रदेश ‘ख’ भक्तपुर नगर क्षेत्रमा गठबन्धनले नेपाली काँग्रेसका नेता पबन भुजुलाई अघि सारेको छ । यहाँ एमालेले नारायण सुन्दर सिन्तकलालाई उम्मेद्वार बनाएको छ । राप्रपाले रोशन नापितलाई उम्मेदवार बनाएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्रका समेतगरी १४ जनाले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भक्तपुर नगरपालिका वडा नं २ स्थित पुरानो जनज्योति पुस्तकालय परिसरमा सबैले उम्मेद्वारी दर्ता गराएका हुन् । जिल्ला अदालतका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला मूख्य निर्वाचन अधिकृत भएर निर्वाचनको जिम्मेवारी समालि रहेका छन् ।