भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि २४ सै घन्टा

रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि २४ सै घन्टा

काठमाडौं, भदौ ११।सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो।एउटा कोठाबाट सुरू भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन।जनताको करबाट सञ्चालित देशको एक मात्र समाचार समिति रासस आफ्नो स्थापनाको समयदेखि नै देश तथा जनताको सुसूचित हुने आवश्यकता र अधिकारलाई दृष्टिगत गर्दै आफ्ना सेवाहरू प्रकाशन-प्रशारण गर्दै आइरहेको छ।देशको ‘न्यूज बैंक’ र ‘मिडियाको पनि मिडिया’ का रुपमा राससले सञ्चारमाध्यमको माग र आवश्यकतालाई आफ्ना विविध सेवाका माध्यमबाट सम्बोधन गर्ने प्रयत्न निरन्तर गर्दै आइरहेको छ।

नेपाली, अंग्रेजी र अन्तराष्ट्रिय समाचार बुलेटिनका अलावा पछिल्लो दिनमा राससले आफ्ना सेवालाई विविधिकृत गर्दै तस्वीर, श्रव्य, श्रव्य–दृश्य, विचार तथा आलेख सेवा प्रवाह गरिरहेको छ।राससले नेपालको संविधान २०७२ को मर्मअनुसार संघीयता र समावेशी अवधारणालाई आत्मसात गर्दै गत वर्षदेखि अवधी भषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ।यसै क्रममा आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न र अन्तर्राष्ट्रिय समाचार सेवाहरुको हाराहारीमा आफूलाई उभ्याउन राससले आजदेखि परीक्षणका रुपमा नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गर्ने जमर्को गरेको छ।राससले आफ्नो सेवा १७ घण्टा उपलब्ध गराउँदै आएको थियो।

लोकतन्त्रको सम्बर्द्धन र सुदृढीकरणका लागि सही सूचनाको निरन्तर सम्प्रेषण र उपलब्धता आवश्यक पर्ने कुरातर्फ सचेत रहँदै राष्ट्र र जनताप्रतिको दायित्व निर्वाह गर्न हामी निरन्तर क्रियाशील छौं। हाम्रो यो पछिल्लो प्रयत्न पनि त्यसैको उदाहरण हो भन्दा अन्यथा हुने छैन। निश्चित समयमा निश्चित समाचार सेवा उपलब्ध गराउँदै अघि बढेकोे राससले बदलिँदो समयअनुसार आफूलाई परिष्कृत गर्दै लगेको छ।पछिल्लो समयमा देशमा आएको राजनीतिक परिवर्तन र त्यसले समेटेको बृहत् क्षेत्रबारे सूचना र समाचार सेवा विस्तार गर्ने राससको लक्ष्य हो। देश संघीयतामा गएसँगै समानुपातिक समावेशीताको सिद्धान्तअनुसार हरेक क्षेत्र, भूगोल, धर्म, सम्प्रदाय र भाषाभाषीका सूचना र समाचार सम्प्रेषण गर्न रासस प्रतिबद्ध छ।पछिल्लो समय प्रविधि विशेषतः डिजिटल प्रविधिको तीव्र विकाससँगै समाचारको दायरा पनि फराकिलो भएको छ।

कुनैबेला समय, समाज र क्षेत्रका आधारमा सीमित रहेको समाचार आज कुनै पनि सीमाले बाँधिन सक्दैन । सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यम होउन् या त सूचना प्राप्त गर्ने नागरिक, आज कुनै भूगोल वा क्षेत्रमा मात्र सीमित छैनन्। प्रविधिसँगै सूचना र समाचारको दायरा पनि निरन्तर विश्वव्यापीकरण भइरहेको छ वा भइसकेको छ।आज समाचारका पाठकरदर्शकमात्र होइन, नेपाली सञ्चारमाध्यम पनि विश्वभर फैलिएका छन् । सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना र समाचार छिटो हेर्न र पढ्न रुचाउँछन्।अति व्यस्त दैनिकीका कारण आमपाठक÷दर्शकले समाचारका लागि निश्चित समय कुर्न सक्ने अवस्था नभएकाले पनि सञ्चारमाध्यमहरूलाई पहिलेजस्तो समाचार सम्प्रेषणमा ‘डेडलाइन’ तोकेर काम गर्न चुनौती आइसकेको छ । यही आवश्यकता र समयको मागअनुसार राससले आजदेखि परीक्षणका रूपमा चौबिसै घन्टा नेपाली समाचार सेवा सुरु गर्दैछ।राससको यो सेवाले आमसेवाग्राही सञ्चारमाध्यम त लाभान्वित हुनेछन् नै, सँगै आमनागरिकको सूचना र समाचारको दायरा पनि झन् फराकिलो हुने विश्वास हामीले लिएका छौँ।

सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण सेकेन्ड–सेकेन्डमा प्रवाह भएका सूचनाले आमनागरिकलाई दिग्भ्रमित बनाइरहेका बेला राससको यो विस्तारित सेवाले सही सूचना र समाचार प्राप्त गर्ने अधिकारको रक्षा गर्नेछ भन्ने हाम्रो विश्वास छ।परीक्षण अवधिमा सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौँ। प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ। अन्त्यमा यो सेवा सञ्चालनका लागि सरकारको मार्गदर्शन र राससका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दछौं।रासस