रुख ढल्दा भक्तपुरको सल्लाघारीमा भयानक दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते

रुख ढल्दा भक्तपुरको सल्लाघारीमा भयानक दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा सल्लाको रुख ढल्दा तीन जनाको मृत्यु भएको छ । आइतबार भक्तपुरको भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य १२ जना घाइते भएका छन् ।

रुख ढलेर च्यापिँदा भक्तपुर वडा नम्बर २ बस्ने २५ वर्षका विशेष खर्बुजासहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । ज्यान गुमाएका बाँकी दुई जनाको परिचय खुल्न सकेको सकेको छैन ।काठमाण्डौबाट भक्तपुरका लागि छुटेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर लागेको हो । घाइतेहरूको भक्तपुरकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए ।

उनले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको उद्धार टोली पुगेर प्रारम्भिक अनुसन्धान गर्नुका साथै ढलेको रुख र च्यापिएको सवारीसाधन हटाएर बाटाे खुलाउने कार्य भइसकेको  बताए । घाइतेहरूको भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकाहरूको यथाशिघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुर प्रशासनलाई निर्देशन दिएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई फोन गरेर उनले यथाशिघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

भक्तपुर नगरपालिका वडा नं १ वडा अध्यक्ष श्याम खत्रीले भक्तपुर नगरपालिका वडा नं १ सल्ला घारीमा रुख ढलेर भएको दुर्घटनामा घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै मृतकहरुप्रति समवेदना व्यक्त गरे । उनले भक्तपुरको सल्लाघारीमा पुराना रुखहरुसमेत भएकाले जिल्ला वन कार्यालयसंगको सहकार्यमा पुराना रुखहरु हटाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए ।

उनले दुई तीन दिन अन्य रुटको प्रयोग गरेर यातायातका साधन सञ्चालन गरेरै भएपनि पुराना रुखहरु हटाउने व्यवस्था गरेर नयाँ रुखरु रोप्ने व्यवस्था गरिने बताए ।

 


Thali Mobile Pvt.Ltd.