भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन

सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन

मुख्य  बुँदा

सुनकोशी–मरिण आयोजनाको करिब १६ अर्ब रुपैयाँको ठेक्का रद्द गर्ने निर्णयमाथि संसदीय समितिमा प्रश्न उठेको छ ।

सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले कानुनी आधार, प्रक्रियागत वैधानिकता र सम्भावित स्वार्थमाथि छानबिन माग गरेका छन् ।

सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले नियमावलीको १६औँ संशोधनका कारण ठेक्का रद्द गरिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री कार्यालयको सम्भावित हस्तक्षेप र निर्माण व्यवसायीको स्वार्थबारे आरोप उठेको छ ।

सार्वजनिक लेखा समितिले सात दिनभित्र ठेक्कासम्बन्धी सम्पूर्ण कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौँ, ८ मंसिर । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको करिब १६ अर्ब रुपैयाँको ठेक्का रद्द गर्ने निर्णयमाथि संसदीय समितिमा गम्भीर प्रश्न उठेको छ । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्नुको कानुनी आधार, प्रक्रियागत वैधानिकता र यसमा हुन सक्ने स्वार्थबारे प्रश्न उठाउँदै विस्तृत छानबिनको माग गरेका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिले ऊर्जा मन्त्रालय र सिँचाइ विभागका महानिर्देशकलाई बोलाएर यस विषयमा छलफल गरेको थियो । आयोजनाको हेडवक्र्स, बालुवा थिग्र्याउने संरचना, विद्युत् गृहलगायतका संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा प्राविधिक मूल्याङ्कन पूरा भई आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो ।

बैठकमा सांसदहरूले करिब १६ अर्ब रुपैयाँको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि अचानक रद्द गरिनुमा निहित स्वार्थ हुन सक्ने आशङ्का व्यक्त गरे । उनीहरूले प्रधानमन्त्री कार्यालयको सम्भावित हस्तक्षेप र ठेकेदारको स्वार्थबारे पनि प्रश्न उठाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बु ओली र नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्ने निर्णयको आधार स्पष्ट पार्न माग गरे ।

सांसद खुस्बु ओलीले ठेक्का रद्द गर्ने विषयमा सिँचाइ विभागका महानिर्देशक वा आयोजना प्रमुखमार्फत प्रधानमन्त्री कार्यालयबाट कुनै निर्णय वा राय लिइएको थियो कि थिएन भन्ने स्पष्ट पार्न माग गरिन् । उनले राष्ट्रिय गौरवको आयोजना अनुगमन गर्ने अधिकार र कानुनी प्रक्रियामा हुने सम्भावित हस्तक्षेपबीचको सीमा स्पष्ट हुनुपर्ने बताइन् ।

एमाले सांसद गणेशसिंह ठगुन्नाले प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्तावसमेत सिलबन्दी रूपमा पेस भइसकेको अवस्थामा नियम परिवर्तनको आधारमा ठेक्का रद्द गर्नु अनुचित हुन सक्ने बताए । उनले यस विषयमा थप अध्ययन र छानबिन गर्नुपर्ने धारणा राखे । रास्वपाका सांसद मनिष झाले आयोजना सुरु भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरे ।

उनका अनुसार १३.३ किलोमिटर लामो सुरुङको सन् २०२४ मे महिनामै छिचोल्ने काम पूरा भए पनि त्यसपछि आयोजना अघि बढ्न सकेको छैन । उनले ठेक्का किन रद्द भयो, त्यसमा को जिम्मेवार छ र अब आयोजना कसरी सम्पन्न गरिन्छ भन्ने विषयमा स्पष्ट कार्ययोजना माग गरे ।

कांग्रेस सांसद जनकराज गिरीले ठेक्का रद्द हुँदा राज्यलाई भएको आर्थिक क्षतिको यकिन विवरण माग गरे । नेकपाका सांसद महेन्द्रबहादुर शाहीले नियमावली संशोधन भएकै कारण पुराना ठेक्का रद्द गर्दै जाने हो भने बहुवर्षीय राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसक्ने भन्दै सरकारसँग कानुनी तथा प्राविधिक आधार माग गरे ।

बैठकमा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरे पनि ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालय वा सचिवालयबाट हस्तक्षेप नभएको दाबी गरे । उनका अनुसार सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधनअनुसार बोलपत्र प्रक्रिया अघि बढाइएको थियो । तर, प्राविधिक प्रस्ताव खोल्नुअघि नै २०८३ भदौ ३ गतेदेखि लागू हुने गरी १६औँ संशोधन राजपत्रमा प्रकाशित भएको थियो । उक्त संशोधनले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका आयोजनामा अङ्कभारमा आधारित मूल्याङ्कन मापदण्ड अनिवार्य गरेको थियो ।

महानिर्देशक रजौरियाले संशोधित नियमावलीअनुसार कागजात परिमार्जन नगरी पुरानै प्रक्रियाबाट अघि बढ्दा भविष्यमा कानुनी तथा प्रक्रियागत जटिलता आउन सक्ने देखिएकाले बोलपत्र रद्द गरिएको बताए । निर्णय कुनै व्यक्ति वा पक्षविशेषको हितमा नभई प्रचलित कानुन र सार्वजनिक हितका आधारमा गरिएको उनको दाबी छ ।

तर, समाचारमा उल्लेखित मन्त्रालयका स्रोतहरूले भने ठेक्का प्रक्रियामा निश्चित निर्माण व्यवसायीलाई लाभ पुग्ने गरी दबाब दिइएको आरोप लगाएका छन् । प्रहरी उच्च स्रोतको दाबी उद्धृत गर्दै आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल र महानिर्देशक रजौरियालाई प्रधानमन्त्री सचिवालयका अधिकारीहरूको निर्देशनमा नियन्त्रणमा लिइएको र त्यसपछि ठेक्का रद्द गरिएको विवरणसमेत सार्वजनिक भएको छ । यी आरोपबारे बैठकमा सांसदहरूले सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन् ।

आयोजनाको अन्तर्राष्ट्रिय बोलपत्रमा चीन, भारत र भियतनामका गरी छ निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । प्रारम्भिक प्राविधिक मूल्याङ्कनमा तीन चिनियाँ कम्पनी मात्र योग्य ठहरिएका थिए । सुनकोशी–मरिण आयोजना सम्पन्न भएपछि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सार्वजनिक लेखा समितिले ठेक्का प्रक्रिया र रद्द गर्ने निर्णयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिले प्राप्त कागजात अध्ययन गरेपछि ठेक्का रद्दमा कानुनी त्रुटि थियो वा नीतिगत हस्तक्षेप भएको थियो भन्ने विषयमा थप तथ्य स्पष्ट हुने समितिका सभापति भरत खड्काले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.