भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा

गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा

एजेन्सी, ८ मंसिर । इजरायलको लामो सैन्य आक्रमणका कारण गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषणको चपेटामा परेको एक प्रतिवेदनले देखाएको छ । बेलायतस्थित अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफाम र कन्फ्लिक्ट एन्ड इन्भाइरोन्मेन्ट अब्जर्भेटरीले तयार पारेको प्रतिवेदनअनुसार विस्फोटक पदार्थ, आगजनी गराउने हतियार र भग्नावशेषका कारण हावा, माटो, पानी तथा खाद्यवस्तु प्रदूषित बनेका छन् ।

यसबाट गाजामा बसोबास गर्ने करिब २३ लाख प्यालेस्टिनीको स्वास्थ्य र जीवनयापनमा गम्भीर जोखिम उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । प्रदूषणको असर तत्कालीन स्वास्थ्य समस्यामा मात्र सीमित नभई आगामी पुस्तासम्म पुग्न सक्ने चेतावनीसमेत दिइएको छ ।

अक्सफामका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक अमिताभ बेहरले गाजामा भइरहेको आक्रमणलाई वातावरणमाथिको सैन्य आक्रमणको संज्ञा दिएका छन् । उनका अनुसार यसले मानव जीवन र सुरक्षाका लागि आवश्यक वातावरणीय अवस्थालाई नै ध्वस्त पारेको छ । यसबाट अन्तर्राष्ट्रिय मानवीय तथा मानवअधिकार कानुनअन्तर्गतका दायित्व उल्लङ्घन भएको हुन सक्ने उनको भनाइ छ ।

प्रतिवेदनले प्रदूषित हावा, पानी, खाद्यवस्तु र भग्नावशेषसँगको प्रत्यक्ष सम्पर्कबाट प्यालेस्टिनीहरू विभिन्न विषाक्त पदार्थको जोखिममा परेको जनाएको छ । यसबारे पूर्ण तथा स्वतन्त्र अनुसन्धान आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको आक्रमणका कारण गाजामा ६ करोड १० लाख टन भग्नावशेष जम्मा भएको छ ।

यो गाजाका प्रत्येक बासिन्दाका भागमा करिब २९ टन पर्न आउने मात्रा हो । अक्सफामका अनुसार यति ठूलो भग्नावशेष हटाउन २१ लाख टिपर आवश्यक पर्नेछ । सन् २०२५ अक्टोबर ११ सम्म इजरायली स्थल सैन्य कारबाहीबाट गाजाको कुल ३६५ वर्ग किलोमिटर क्षेत्रफलमध्ये करिब २८३ वर्ग किलोमिटर अर्थात् ७८ प्रतिशत भूभाग प्रत्यक्ष प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । बमबारी र आगलागीबाट निस्कने प्रदूषक पदार्थका साथै नफुटेका बम तथा विस्फोटक सामग्रीले माटो र भूमिगत पानी दूषित बनाउने जोखिम रहेको छ ।

इजरायली आक्रमणबाट सन् २०२५ जनवरीसम्म १३ लाख टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको एक अध्ययनले देखाएको प्रतिवेदनमा उल्लेख छ । गाजाको खानेपानी तथा ढल व्यवस्थापन प्रणालीमा पनि ठूलो क्षति पुगेको छ । प्यालेस्टिनी जल प्राधिकरणका अनुसार युद्धअघि गाजामा दैनिक ३ लाख ३४ हजार १०७ घनमिटर पानी आपूर्ति हुन्थ्यो । सन् २०२४ जुनमा यो घटेर ५४ हजार ७४७ घनमिटरमा झरेको थियो । अर्थात् पानी आपूर्तिमा करिब ८४ प्रतिशत कमी आएको थियो ।

सन् २०२६ अप्रिलसम्म दैनिक पानी आपूर्ति १ लाख ३० हजार ३१५ घनमिटर पुगे पनि यो युद्धअघिको तुलनामा ६१ प्रतिशत कम रहेको प्रतिवेदनमा उल्लेख छ । गाजाका ६१ वटा पानी भण्डारण ट्यांकीमध्ये नौवटा मात्र सञ्चालनमा थिए । ती ट्यांकीमा रहेको पानीले प्रतिव्यक्ति दैनिक १८ लिटर उपलब्ध गराउन सक्ने अवस्था रहेको जनाइएको छ ।

गाजाको तटीय भूमिगत जलभण्डारबाट युद्धअघि कुल पानीको ८१ प्रतिशत आपूर्ति हुन्थ्यो । तर, युद्धअघि नै उक्त जलभण्डारको ९७ प्रतिशत पानी रासायनिक रूपमा प्रदूषित भइसकेको थियो । अत्यधिक पानी निकाल्ने क्रम, नाकाबन्दी, समुद्री पानीको प्रवेश र प्रशोधन नगरिएको ढलले प्रदूषण थप बढाएको अक्सफामले जनाएको छ ।

सन् २०२६ जुलाईमा गरिएको परीक्षणमा ७९ वटा भूमिगत पानीका इनारमध्ये १५ वटामा दिसाजन्य कोलिफर्म जीवाणु भेटिएका थिए । त्यस्तै, ६१ वटा इनारको पानीमा घुलित ठोस पदार्थको मात्रा प्रतिलिटर एक हजार मिलिग्रामभन्दा बढी पाइएको थियो ।

सन् २०२४ अप्रिलसम्म इजरायली आक्रमणले गाजाका सबै छवटा ढल प्रशोधन केन्द्र ध्वस्त पारेको प्रतिवेदनमा उल्लेख छ । अहिले दैनिक करिब ४० हजार घनमिटर प्रशोधन नगरिएको ढल भूमध्यसागरमा मिसिने गरेको अनुमान गरिएको छ । युद्धले गाजाको कृषि क्षेत्रलाई पनि गम्भीर असर पुर्‍याएको छ । युद्धअघि गाजाका कृषि फार्मले स्थानीय बासिन्दाले उपभोग गर्ने ताजा तरकारीको करिब ९५ प्रतिशत उत्पादन गर्थे । तर, सन् २०२५ को अन्त्यसम्म ८७ प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको थियो । अक्सफामका अनुसार तीन प्रतिशत जमिन मात्र खेतीका लागि पहुँचयोग्य र क्षतिरहित अवस्थामा थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ अक्टोबरसम्म १० लाखभन्दा बढी जैतुनका रूख उखेलिएका थिए । सात हजार २०० भन्दा बढी हरितगृहमा क्षति पुगेको र प्यालेस्टिनी बीउ संरक्षण तथा वितरण गर्ने संरचनासमेत नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२६ जुलाईमा गाजाका १२ लाख मानिस अर्थात् कुल जनसंख्याको ५९ प्रतिशतले गम्भीर खाद्य अभावको सामना गरिरहेका थिए । त्यस्तै, गाजामा करिब ९५ प्रतिशत गाईवस्तु नष्ट भएको र माछा मार्ने गतिविधि लगभग ठप्प भएको प्रतिवेदनले जनाएको छ ।

प्रदूषण र सरसफाइको अभावले स्वास्थ्य क्षेत्रमा पनि गम्भीर असर पारेको छ । प्रतिवेदनअनुसार सन् २०२६ जनवरी र फेब्रुअरीमा मात्रै १९ लाखभन्दा बढी तीव्र श्वासप्रश्वास संक्रमणका घटना र करिब ८१ हजार पानीजस्तो पखालाका घटना दर्ता भएका थिए । तीमध्ये ३६ हजारभन्दा बढी घटना पाँच वर्षमुनिका बालबालिकामा देखिएका थिए । सन् २०२४ मा गाजाको ढलमा पोलियो भाइरस भेटिएको थियो । त्यसपछि एक बालबालिकामा पक्षघात गराउने पोलियो संक्रमण पुष्टि भएको थियो । गाजामा २५ वर्षपछि देखिएको यो पहिलो पोलियो संक्रमण थियो ।

युद्धले गाजाको अर्थतन्त्र र पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ । प्रतिवेदनअनुसार सन् २०२४ मा गाजाको कुल गार्हस्थ्य उत्पादन ८३ प्रतिशतले घटेर ३६ करोड २० लाख अमेरिकी डलरमा झरेको थियो । उद्योग तथा व्यापारसम्बन्धी संस्थानमध्ये ९२ प्रतिशतमा क्षति पुगेको र तीमध्ये ७२ प्रतिशत पूर्ण रूपमा ध्वस्त भएका थिए ।

विश्व बैंक, युरोपेली संघ र संयुक्त राष्ट्रसंघको संयुक्त मूल्याङ्कनअनुसार सन् २०२५ अक्टोबरसम्म गाजामा भौतिक संरचनाको प्रत्यक्ष क्षति ३५ अर्ब २० करोड डलर र आर्थिक क्षति २२ अर्ब ७० करोड डलर पुगेको थियो । पुनःस्थापना र पुनर्निर्माणका लागि आगामी १० वर्षमा ७१ अर्ब ४० करोड डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

अक्सफामले गाजाको वातावरणीय तथा स्वास्थ्य संकट समाधान गर्न पाँच चरणको योजना अघि सारेको छ । योजनामा प्रभावित क्षेत्रमा सुरक्षित पहुँच सुनिश्चित गर्ने, प्रदूषण परीक्षण गर्ने, जोखिमयुक्त स्थान पहिचान गरी मर्मत गर्ने, दूषित क्षेत्र तथा जोखिमपूर्ण फोहोर व्यवस्थापन गर्ने र दीर्घकालीन निगरानीसहित पुनर्निर्माण गर्ने विषय समेटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.