३० जेठ २०७७ काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालले नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने अाैपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीकाे बैठकले नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि संशोधनको पक्षमा मतदान गर्न सदस्यहरुलाई ह्विप जारी गर्नेछ पार्टीले जनाएकाे छ । भोलि बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ ।
भारतले हडपेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई आधिकारिकता दिने सरकारको प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने पक्का भएको छ । दुई दिनअघि मात्र तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले यो विधेयकविरुद्ध संसदमा संशोधनको सूचना दर्ता गरेकी छिन् ।
पार्टीले संशोधनको सूचना फिर्ता नलिए सांसद पदबाट नभई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्ने चेतावनी समेत दिएकाे छ ।