काठमाण्डौ । साउदी अरबमा चार जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट बच्न थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । साउदीमा आइतबारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ८५ पुगेको छ ।
राजधानी रियादमा मात्र आइतबार ६६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ । साउदी मन्त्रालयका अनुसार अहिलेसम्म सङ्क्रमितमध्ये चार सय ८८ जना निको भएका छन् । त्यस्तै आइतबार थप पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण हरेक दिन बढ्दो क्रममा रहेको र नेपाली नागरिकहरुमा पनि सङ्क्रमण देखिएकोले महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
कतिपय नेपालीले कोरोना भाइरसको सङ्क्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनुपरेको गुनासो गरेका छन् । धेरै कम्पनीहरुले काम गराइहेको पाइएको छ । सुरक्षाका सबै उपायहरुलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचेक्र्याइँ नगर्न भन्दै सावधानी र सचेतनाका जानकारीहरु धेरैजनासम्म पुर्याएर एक अर्कालाई मद्दत गर्न राजदुतावासले आह्वान गरेको छ ।