चितवन, ११ फागुन । चितवन जिल्लामा चालु आर्थिक वर्षमा ६२३ जनामा क्षयरोग (टीबी) संक्रमण पुष्टि भएको छ। तीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका रहेका छन् भने चार जना चार वर्षमुनिका रहेका छन्।
जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता पाँच हजार ३८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा क्षयरोगी पहिचान भएका हुन्। संक्रमितमध्ये ३३६ जनामा सर्ने र २८७ जनामा नसर्ने प्रकारको क्षयरोग भेटिएको छ।
त्यसैगरी सात जनामा औषधिले काम नगर्ने (ड्रग-रेसिस्टेन्ट) क्षयरोग पुष्टि भएको छ। हाल संक्रमितहरू जिल्लाका १०७ वटा औषधि वितरण केन्द्रबाट नियमित उपचारमा रहेका छन्। क्षयरोग परीक्षणका लागि जिल्लामा २८ वटा माइक्रोस्कोप सेवा र चारवटा ‘जिन एक्स्पर्ट’ सेवा उपलब्ध छन्।
माइक्रोस्कोपबाट तीन हजार ८१ जनाको परीक्षण गर्दा १४३ जनामा संक्रमण देखिएको थियो भने जिन एक्स्पर्टबाट दुई हजार ३०१ जनाको परीक्षण गर्दा ३०७ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लामा संक्रमितमध्ये २३५ जना महिला र ३८८ जना पुरुष रहेका छन्। गत आर्थिक वर्षमा भने एक हजार ८९ जनामा क्षयरोग पुष्टि भएको थियो, जसमध्ये २२ जनाको मृत्यु भएको थियो।
स्वास्थ्यकर्मीका अनुसार क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाका कारण हुने रोग हो। यसको प्रारम्भिक लक्षणमा लगातार खोकी लाग्नु, ज्वरो आउनु, थकान महसुस हुनु र कमजोरी देखिनु पर्दछन्। यदि दुई हप्ताभन्दा बढी खोकी लागिरह्यो वा ज्वरो कम भएन भने तुरुन्तै स्वास्थ्य संस्थामा परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।
क्षयरोगबाट बच्न सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मदिरा तथा लागुपदार्थबाट टाढा रहने र चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा ६ देखि ८ महिनासम्म औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।