दैलेख, ८ फागुन । दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने राकम हुँदै तिलेपाटा–छेपाडी जोड्ने सडकको अवस्था अत्यन्तै दयनीय बन्दै गएको छ । वर्षौँदेखि स्तरोन्नतिको अपेक्षा गरिए पनि स्थानीय सरकारले यसतर्फ पर्याप्त ध्यान नदिएको भन्दै स्थानीयवासीहरूले गुनासो गरेका छन् ।

स्थानीयका अनुसार उक्त सडकमा धुलो अत्यधिक उड्ने, उकालो र जोखिमपूर्ण मोडहरू धेरै भएको र यात्रा गर्न निकै कठिन हुने गरेको छ । विशेषगरी नाउलीको उकालो भाग सबैभन्दा अप्ठ्यारो रहेको उनीहरूको भनाइ छ ।
त्यस्तै, रोलतर्फ जाने सडकको अवस्था पनि उस्तै खराब रहेको स्थानीयले बताएका छन् । सवारी साधन सञ्चालनमा समस्या हुनुका साथै यात्रुहरूले दैनिक सास्ती भोग्नुपरेको छ ।

स्थानीयवासीहरूले पटक–पटक सडक स्तरोन्नतिको माग गरे पनि सम्बन्धित निकायले चासो नदेखाएको गुनासो गरेका छन् । उनीहरूले तत्काल सडक सुधार तथा स्तरोन्नति गर्न माग गरेका छन् ।