इन्डोनेशियामा अभियन्तामाथि एसिड आक्रमण : चार सैनिक पक्राउ

इन्डोनेशियामा अभियन्तामाथि एसिड आक्रमण : चार सैनिक पक्राउ

मुख्य बुँदा

अभियन्तामाथि एसिड आक्रमणमा चार सैनिक पक्राउ

‘कोन्ट्रास’ अभियन्ता एन्ड्री युनुस गम्भीर घाइते

शरीरको २०% भन्दा बढी भाग जलेको

संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

घटनापछि देशभर प्रदर्शन

स्वतन्त्र छानबिनको माग

इन्डोनेशिया, ६ पफागुन । सरकारमा सेनाको प्रभावको आलोचना गर्ने एक अभियन्तामाथि एसिड आक्रमण गरेको आरोपमा चार जना सैनिक पक्राउ परेका छन् । बीबीसीका अनुसार घटनामा संलग्न रहेको आरोपमा ती सैनिकलाई नियन्त्रणमा लिइएको हो ।

जबरजस्ती बेपत्ता पार्ने घटनाको अनुसन्धान गर्ने अधिकार समूह ‘कोन्ट्रास’ का अभियन्ता एन्ड्री युनुसमाथि गएको हप्ता स्कुटरमा आएका दुई जनाले एसिड प्रहार गरेका थिए । आक्रमणका कारण उनको शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ ।

घटनापछि एन्ड्रीलाई जकार्तास्थित अस्पतालमा भर्ना गरिएको थियो । ‘कोन्ट्रास’ का अनुसार उनको हात, अनुहार, छाती र आँखालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । अधिकार समूह ‘कोन्ट्रास’ ले यसलाई आलोचनात्मक आवाजहरू दबाउने प्रयासका रूपमा व्याख्या गरेको छ ।

सैन्य प्रहरी कमान्डर युस्री नुर्यान्तोका अनुसार घटनाको उद्देश्यबारे अनुसन्धान जारी रहेको छ । पक्राउ परेका चार जना सैनिक गुप्तचर इकाइसँग सम्बन्धित रहेको बताइएको छ ।

एन्ड्रीमाथि आक्रमण त्यतिबेला भएको थियो, जब उनी राजनीतिमा सेनाको बढ्दो भूमिकाबारे पोडकास्ट रेकर्ड गरेर मोटरसाइकलमा घर फर्किरहेका थिए ।

घटनापछि देशका विभिन्न भागमा विरोध प्रदर्शन भएको छ । अधिकारकर्मीहरूले राष्ट्रपति प्रबोवो सुबियान्तोलाई स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेका छन् । राष्ट्रपतिले घटनाको खुला र द्रुत अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ ।