काठमाडौं । कांग्रेसमा तीन समूह सक्रिय छन् । तीनै समूहबाट गरी ११ नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका छन् । एउटै समूहबाट धेरैले सभापति पद ताकेपछि नेता मिलाउन सकस देखिएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवार हुन् ।
देउवा समूहका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पौडेल समूहका महामन्त्री डा। शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा। शेखर कोइरालाले आआफ्नो तयारी थालेका छन् । पौडेल समूहबाटै डा. रामशरण महत र अर्जुननरसिंह केसी सभापति पदका आकांक्षी छन् । सिटौला समूहबाट गगनकुमार थापाले सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । पौडेल समूहमा नेता मिलाउन सिंह र केसी लागेका छन् । देउवा भने निधि नउठ्नेमा ढुक्क रहेको उनीनिकट स्रोत बताउँछ ।
देउवा, पौडेल र सिटौलाबीच १३औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए । पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने तय भएको छ । ४ वर्षमा हुनुपर्ने महाधिवेशन ‘असाधारण कारण सम्भव नभए एक वर्ष थप गर्न मिल्ने’ पार्टी विधानको सुविधा कांग्रेसले उपयोग गरिसकेको छ ।
तर, नेताहरूले कोभिड–१९ का कारण महाधिवेशन प्रभावित हुने निश्चितजस्तै रहेको बताउन थालेका छन् । यसअघि ४ महिना लकडाउनका कारण महाधिवेशन गतिविधि ठप्प भएको थियो । कोरोना संक्रमण तीव्र भएसँगै महाधिवेशन अनिश्चित बन्ने आशंका गर्न थालिएको छ । फागुनमा सम्भव नभए २०७८ भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ । महाधिवेशन आउन ६ महिना बाँकी रहे पनि चहलपहल भने सुरु भइसकेको छ ।
देउवाले नेता÷कार्यकर्तासँगको भेटघाटसँगै पार्टीभित्र प्रभाव बलियो बनाउन विभाग गठन र मनोनयन धमाधम गरिररहेका छन् । संस्थापनइतर समूहको चर्को विरोधका बीच पनि उनले विभागलाई पूर्णता दिने काम रोकेका छैनन् । थप विभाग गठनको तयारीसमेत गरिरहेको उनीनिकट स्रोतले जनाएको छ । देउवा अन्तिमपटक भन्दै कांग्रेसको नेतृत्वमा दोहोरिन चाहन्छन् । वरिष्ठ नेता पौडेल नेतृत्वका लागि बलिया दाबेदार हुन् ।
तर, आफूले नेतृत्व गरेको समूहकै थुप्रै नेता सभापति पदका आकांक्षी देखिएपछि उनी अप्ठेरोमा परेका छन् । उनले आफ्नो नेतृत्वमा सबै नेताको व्यवस्थापन गर्न सकिने बताउँदै आएका छन् । आसन्न महाधिवेशनबाट ‘जसरी पनि देउवालाई रोक्ने’ पौडेल पक्षको तयारी छ । देउवा र पौडेलबीच नै फेरि प्रतिस्पर्धा हुने आकलन गर्न थालिएको छ । अन्नपूर्ण पोष्टबाट…
