नुवाकोट, काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्र रसुवागढी–केरुङ नाका आसपास केही दिनयता न पानी परेको थियो न बाढीरपहिरोको कुनै पूर्वसूचना नै थियो । तिब्बतबाट बगेर आउने ल्हेन्दे खोलाको पारि चीन र वारि रसुवागढी नाका पर्छ । मितेरी पुलबाट केही तल नेपालतर्फकै भोटेकोशी नदीमा ल्हेन्दे खोला मिसिन्छ ।
त्यसपछि नदीको बहाव बढ्दै जान्छ । ल्हेन्दे खोलामाथिको पुल नै चीन र नेपाल जोड्ने मितेरी पुल हो । जुन पछिल्लो समय दुई देशको प्रमुख व्यापारिक नाका बनेको छ । वारिपारि दुवै देशका सुरक्षा अधिकारी २४ सै घण्टा तैनाथ हुन्छन् । नेपालतर्फ मितेरी पुल छेउमै भन्सारको यात्रु शाखा छ ।
त्यही भन्सार यात्रु शाखा छेउमै प्रहरी र सशस्त्र प्रहरी खटिन्छन् । त्यहाँबाट आउजाउ गर्नेको प्रहरी र सशस्त्रले सुरक्षा जाँच गर्छन् । सोमबार रातिदेखि चेक प्वाइन्टमा प्रहरीका असई लालबहादुर श्रेष्ठ तथा जवानद्वय मुन्ना ठाकुर र लोकेन्द्र बोहरा तैनाथ थिए । मंगलबार बिहान एक्कासि ल्हेन्दे खोलाको सतह मितेरी पुलभन्दा माथि देखियो । ड्युटीमा रहेका प्रहरीले तत्कालै टिमुरे प्रहरीमा फोन र वाकीट्वाकीमार्फत भीषण बाढी आएको खबर गरे । बाढीले जनधनको क्षति गर्ने डरले चिच्याउँदै–दौडँदै सम्भावित मानवीय क्षति हुन नदिने प्रयासमा उनीहरू खटिए ।
रसुवागढीमा रहेका सुरक्षाकर्मीका अनुसार ल्हेन्देको बाढी नेपाल प्रवेश गर्दा अन्दाजी मंगलबार बिहान ३ बजिसकेको थियो । बाढीको खबर माथिल्लो तहलाई दिएपछि सुरक्षाकर्मी खोज र उद्धारका लागि तयारी हुँदाहुँदै बाढी सीमा क्षेत्र नजिकै रहेका भौतिक संरचना भएतिर हेलियो । यता, चेक प्वाइन्टका सुरक्षाकर्मी केहीबेरमै सम्पर्कविहीन बने । बिहान उज्यालो हुँदासम्म अरू १७ जना सम्पर्कविहीन भइसकेका थिए । दिउँसोसम्ममा ३ प्रहरी, ६ चिनियाँ नागरिक र बाँकी ११ सर्वसाधारण सम्पर्कविहीन भएको यकिन भयो ।
बाढी आएको खोला छेउमै सुक्खा बन्दरगाह छ । दुई वटा ठूला भवन निर्माणाधीन छन् । इलाका प्रहरी कार्यालय, त्यसपछि सेनाको चेक प्वाइन्ट र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी० का संरचना पनि त्यही आसपास छन् । सीमा र त्यससँग जोडिएका व्यापारिक गतिविधि, नेपाललाई चीन सरकारले बनाइदिँदै गरेका भन्सारका दुई वटा भवन पनि त्यहीँ छन् । भन्सार यार्डमा चीनबाट भित्रिएका कन्टेनरलगायतका सवारीसाधन पनि राखिएका थिए । केही सवारीसाधन बगे भने बाढीमा फसेका ३० जनालाई सैनिक हेलिकोप्टर र बाँकी २७ जनालाई सेना, प्रहरी र सशस्त्रका जनशक्तिले उद्धार गरे ।
बाढीको वितण्डापछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीले तल्लो तटीय क्षेत्रका विभिन्न स्थानबाट ९ शव फेला पारेका छन् । हराइरहेकाको खोजी गर्ने क्रममा बाढीको सुरुवाती सूचना दिएर सम्पर्कविहीन बनेका उनै असई श्रेष्ठको शव साँझ चितवनको १५ किलो नजिकै त्रिशूली नदीमा फेला परेको नेपाल प्रहरीका एसएसपी रमेश थापाले जानकारी दिए । ‘असई लालबहादुर श्रेष्ठले नै हो बाढीको सबैभन्दा पहिले सूचना प्रवाह गरेको, त्यसपछि आफैं सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीमै हेलिए,’ उनले भने ।
काठमाडौंबाट ५८ भारतीय पर्यटकको टोली रसुवागढी नाकाबाट केरुङ हुँदै कैलाश मानसरोवर जान सोमबार राति स्याफ्रुबेंसी पुगेर बास बसेको थियो । दुई वटा पर्यटक बस र एउटा स्कोर्पियोमा गएको उक्त टोलीका स्कोर्पियो चालक थिए ध्रुव बस्नेत । पर्यटक लिएर रसुवा–काठमाडौं गरिरहने उनी टिमुरेका होटल र लज सबै पर्यटकले भरिभराउ भएका कारण रसुवागढी नाकाभन्दा १५ किलोमिटर यतै स्याफ्रुमा बास बसेका थिए ।
बस्नेतका अनुसार भोटेकोशी खोलाको किनारमै रहेको स्याफ्रुबेंसी बजारको एक लजमा सुतिरहेका बेला बिहान तीनरसवा तीन बजेतिर भूकम्प गएजसरी खाट र घर हल्लिन थालेपछि उनको निद्रा टुटेको थियो । ब्युँझिएर सडकमा निस्कँदा भोटेकोशीमा उर्लेर बाढी आइरहेको थियो । ‘सडकमा निस्किँदा तल खोलामा हुडुङडुङ गर्दै बाढी आइरहेको थियो,’ उनी भन्छन्, ‘बाढीको वेगकै कारण भूकम्प गएजसरी जमिन नै थर्किरहेको थियो, हामी डरले डाँडातर्फ उक्लन थाल्यौं ।’
वर्षैभर उक्त सडकमा कैयौंपल्ट ओहोरदोहोर गरेका बस्नेत यसअघि भोटेकोशीमा त्यति ठूलो बाढी नदेखेको बताउँछन् । ‘खोला बढेको देखेपछि माथि रहेका साथीहरूलाई कन्ट्याक गर्यौं, उनीहरू र गाडी पनि सुरक्षित रहेछन्,’ उनले साँझ कान्तिपुरसँग भने, ‘बिहान फेरि ६–७ बजेतिर कुरा हुँदा टिमुरेका यार्डहरू केही छैन, माथि मितेरी पुलै बगाएको छ भनेर उनीहरूले भनेका थिए, अहिले उनीहरूसँग सम्पर्क हुन सकेको छैन ।’
बस्नेतका अनुसार स्याफ्रुबेंसी र त्यहाँभन्दा माथि विद्युत् आपूर्ति तलमाथि हुनासाथै फोन सम्पर्क गर्नै कठिन हुन्छ । त्यसमाथि पनि बाढीले वितण्डा मचाएपछि सञ्चार सम्पर्क हुने आधार नभएको उनी बताउँछन् । ‘साथीहरूले माथि ठूलै क्षति भएको बताएपछि स्याफ्रुबेंसीको पुललाई पनि बाढीले क्षति पुर्यायो भने त्यतै अड्किनुपर्छ भनेर हामी त फर्कियौं,’ उनी भन्छन्, ‘स्याफ्रुबेंसीसम्म गाडी सजिलै जान्छ, त्योभन्दा माथि जान सक्ने अवस्था नै छैन रे, धेरै ठाउँमा सडक नै लगेको छ भनेका छन् ।’
रसुवागढी बेदाङका स्थानीय छिरिङ तामाङका अनुसार उनका बुबा करिब १४ वर्षको हुँदा त्यो ठाउँमा यसैगरी ठूलो बाढी आएको थियो रे । त्यो लगभग १०० वर्ष अघिको घटना भएको उनको भनाइ छ । उनका बुबाले सुनाएअनुसार त्यस बेला आएको बाढीले वरपरका सबै गाउँ नै बगाएको थियो ।
‘हाम्रो भाषामा काङ्बाल भन्छौं, त्यो भनेको पुल नै नाघेर आउने बाढी हो, बुबाले कुनै दिन फेरि आउँछ भन्नुहुन्थ्यो, नभन्दै आज आयो,’ उनले भने, ‘बुबाले देखेजस्तो गाउँ नै बगाउने गरी त आएन तर खोला वरपरका धेरै संरचना ध्वस्त बनायो, यो बाढी ल्हेन्दे खोलाको साटो केरुङमा आएको भए केही बाँकी हुन्न थियो ।’
तामाङ आइतबार व्यक्तिगत कामका कारण काठमाडौं आएका थिए । उनको मंगलबार फर्कने योजना थियो । तर अहिले त्यहाँसम्म पुग्ने अवस्था नरहेकाले जाने कि नजाने अन्योलमा उनी छन् । ‘घरतिर त सबै ठीकै छ रे, बिहानसम्म फोनमा कुरा भइरहेको थियो, अहिले एनटीसी र एनसेल दुवै लाग्दैन,’ उनले भने, ‘स्याफ्रुबेंसीसम्म पुग्न समस्या छैन रे, त्यहाँभन्दा उता जान भने गाह्रो छ भन्दै थिए ।’ उनका अनुसार बाढीले चार्जिङ स्टेसनका साथै त्यहाँ पार्किङ गरेर राखिएका केही ईभी गाडी पनि बगाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जॅन पौडेलका अनुसार अचानक आएको बाढीले रसुवागढीदेखि टिमुरेसम्मको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । ड्राइपोर्ट छेउछाउमा पार्किङ गरिएका गाडीमा नै धेरै जना सुत्ने गरेकाले कति जनालाई बाढीले बगाएको छ भन्ने अझै यकिन हुन सकेको छैन । भोटेकोशीमा आएको बाढीमा परेर हालसम्म १९ जना सम्पर्कविहीन भएको जानकारीमा आएको छ भने ९ जनाको शव फेला पारिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार हालसम्म सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका ३ जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६ जना, कन्टेनर चालक ५ र चिनियाँ नागरिक ६ जना छन् । बाढीका कारण भन्सार यार्डमा फसेका केहीको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका १ र ९ बीचमा बाढीमा फसेका दुई जनालाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार मंगलबार बिहान दाउरा लिन गएका उनीहरू अचानक बाढी आएपछि बीचमै फसेका थिए । मैती तामाङ र पाल्देन तामाङलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । बाढी आएपछि उनीहरू ढिस्कोमा बसेका थिए, बाढी बढ्दै गएपछि रूखमा चढेर जोगिएका थिए ।
बिनावर्षा नै बाढी
जल तथा मौसम विज्ञान विभागले रसुवाको बाढी अत्यधिक वर्षाका कारण नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । रसुवा बाढीका विषयमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै विभागले सोमबार बिहान ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म रसुवामा फाटफुट मात्र वर्षा भएको जनाएको छ ।
‘नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको देखिन्छ,’ विभागको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । बाढीको पूर्वानुमान गर्न र पूर्वचेतावनी दिन विश्व मौसम संगठनले विकास गरेको भूउपग्रहमा आधारित प्रणाली ९फ्ल्यास फ्लड गाइडेन्स सिस्टम० ले पनि सोमबार र मंगलबार २४ घण्टामा भोटेकोशी जलाधार क्षेत्रमा ठूलो वर्षा नदेखाएको विभागको भनाइ छ ।
विभागले तिब्बत क्षेत्रका हिमताल विस्फोटका कारण पनि भोटेकोशीमा एक्कासि बाढी आएको हुन सक्ने आशंका गरेको छ । ‘भोटेकोशी नदी जलाधारको तिब्बत क्षेत्रमा थुप्रै हिमताल रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको प्रभाव आकलन गर्न तत्काल भूउपग्रह तस्बिरका लागि अनुरोध गरिएको छ,’ विभागले भनेको छ ।
रसुवागढी नाकाबाट केही तल टिमुरेस्थित जलविद्युत् आयोजनामा रहेको मापन केन्द्रको तथ्यांकअनुसार बिहान ३ बजेर १० मिनेट जाँदा त्यहाँको जल सतह एक्कासि करिब साढे तीन मिटर बढेको थियो । रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेंसी स्वचालित जलमापन केन्द्रले बिहान ३ बजेर ३० मिनेट जाँदा भोटेकोशीको जल सतह एक्कासि बढेको देखाएको छ ।
‘उक्त केन्द्रमा बिहान साढे ३ बजे जल सतह ३।६५ मिटर रहेकामा त्यसको १० मिनेटभित्रै ३ बजेर ४० मिनेटमा बढेर ५।३७ मिटर पुगेको देखिन्छ,’ विभागको प्रतिवेदनमा उल्लेख छ । तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको विभागले जनाएको छ । बिहान ६ बजे सम्पर्कमा आएका केन्द्रका गेजरिडरले केन्द्र नै बगाएको जानकारी दिएका थिए ।
विभागका अनुसार रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल नुवाकोस्थित त्रिशूली बेत्रावती जलमापन केन्द्रमा बिहान ५ बजे जल सतह १।६० मिटर मापन गरिएकामा ५ बजेर १० मिनेटमा एक्कासि बढेर ३।६३ पुगेको र ५ बजेर ५० मिनेटमा ४।१८ मिटर पुगेको थियो ।
विभागले बाढीको ठूलो प्रभाव भोटेकोशी तथा त्रिशूली नदीको रसुवा क्षेत्र र मध्यम प्रभाव नुवाकोटको तटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङ बूढीगण्डकी दोभान ९बेनिघाट० आसपाससम्म पर्ने जनाउँदै तीनै वटा जिल्लाका तटीय क्षेत्र आसपासका लागि सतर्क रहन सचेत गराएको थियो ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मंगलबार भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बहाव प्रवेश गरेको जनाएको छ । चितवन प्रहरीले नारायणीमा बाढी आउन सक्ने भन्दै माइकिङ गरेको छ । मंगलबार बिहान रसुवागढीस्थित भोटेकोशीमा तिब्बतबाट आएको बाढीले त्रिशूली नदी किनारका बस्ती प्रभावित हुन सक्ने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ ।
नेपाली सेनाको हेलिकोप्टर चिनियाँको कब्जामा
भोटेकोशीमा आएको बाढीबाट विस्थापित भएकालाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै ‘फोर्स ल्यान्डिङ’ गराइएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढीपारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर उतार्न लगाएका हुन् । सेनाका अधिकारीले भने प्राविधिक कारणले हेलिकोप्टर चीनतर्फ अवतरण गराइएको र छिट्टै फर्किने बताएका छन् ।
बाढीका कारण चीनतर्फ रोकिएका करिब १५० नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको थियो । तर पूर्वअनुमतिबिना हेलिकोप्टर आएको भन्दै चिनियाँ पक्षले ‘फोर्स ल्यान्डिङ’ गराएका हुन् । यसबारे नेपालको स्थानीय प्रशासनले गृह मन्त्रालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
प्रधानमन्त्रीको स्थलगत भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेका थिए ।
उनले बेपत्ता भएकाको स्थिति, रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । बाढीले ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।
२ सय मेगावाट विद्युत् उत्पादन बन्द
बाढीले झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका परियोजनामा ठूलो क्षति पुर्याएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । उनका अनुसार बाढीले रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली ३ ‘ए’ र त्रिशूली ३ ‘बी’ मा क्षति पुगेको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको प्रवक्ता ढकाल बताउँछन् ।
‘चिलिमेको टेलरेसमा पानी छिरेको छ, दुई–तीन दिनमा सफा होला, त्रिशूली ३ ‘ए’ को तीन वटा हेडवर्क्स बगाएको छ,’ उनले भने । त्यस्तै त्रिशूली ३ ‘बी’ को हब सबस्टेसनमा पनि बाढी पसेपछि बन्द गरिएको छ । चिलिमे २२ मेगावाट, त्रिशूली ३ ‘ए’ ६० र त्रिशूली ३ ‘बी’ ३७ मेगावाटका परियोजना हुन् । कान्तिपुर दैनिकबाट……
