काठमाडौँ । डल्लुका ५४ वर्षीय पुरुषलाई भदौ ७ मा कोरोना संक्रमण पुष्टि भयो । रिपोर्ट पोजिटिभ आएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले उनलाई अस्पताल जानका लागि तयार रहनु भन्दै बिहानै फोन गरे ।
परिवारले उनलाई घरमा छुट्टै कोठामा सावधानीपूर्वक राखे र ईडीसीडीबाट एम्बुलेन्स आउने पर्खाइमा बसे । ‘बुवालाई संक्रमणको लक्षण देखिइसकेको थियो । उच्च ज्वरो र खोकी थियो । उहाँ मधुमेहको बिरामीसमेत हुनुहुन्थ्यो,’ संक्रमितकी छोरीले भनिन्, ‘दिनैभर एम्बुलेन्स आएन । बेलुकातिर मात्रै अस्पताल लगे ।’
संक्रमितलाई अस्पताल लगिएको एक साता बित्यो, उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भने गरिएको छैन । ती संक्रमितको घरमा ११ जना छन् । एक जना क्यान्सरकी बिरामी पनि छिन् । घरमा भएका दुई जनालाई ज्वरो र खोकी लागिसकेको संक्रमितकी छोरीले बताइन् । ‘घरमा खानेकुरा छैन । हामीलाई छिमेकीले बाहिर निस्कन पनि दिएका छैनन्,’ उनले भनिन्, ‘ईडीसीडीमा फोन गर्दा वडामा भन्नू भन्छन् ।
काठमाडौं वडा नम्बर २३ का ३५ वर्षीय पुरुषलाई साउन ३१ मा कोरोना संक्रमण पुष्टि भयो । कन्ट्याक्ट ट्रेसिङ नभएपछि उनको परिवारका १० जनाले आफ्नै खर्चमा पीसीआर परीक्षण गरे । ‘घरमा आमा थाइराइड र मधुमेहकी बिरामी हुनुहुन्छ । भेटघाट भइराख्नुभएका ५७ वर्षीय ससुरालाई उच्च रक्तचापको समस्या थियो । जोखिम हुन्छ भनेर डर लाग्यो तर ट्रेसिङ हुँदै भएन ।
उपत्यकामा हाल कुल सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ८४ छ भने ३४ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २० छ । यसबाहेक ३ सय ९३ जना निको भए भने २१ जनाको ज्यान गयो । ललितपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ४४ छ, ६७ जना निको भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । भक्तपुर जिल्लामा ४ सय २० जना सक्रिय संक्रमित छन् । ५० जना भने निको भइसकेका छन् र ७ जनाको मृत्यु भएको छ । कान्तिपुरबाट…
