काँकडभिट्टा । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइँदै छ ।प्रसाईंलाई अबको आधा घन्टामा मेची पुल ल्याइने जानकारी आएको उनका दाइ लक्ष्मी प्रसाईंले बताए । मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका छन् ।
१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए ।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्याएका थिए ।
घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।कान्तिपुरबाट
