काठमाडौं । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीको निवास एक तिहाइ पूरा भएको जनाइएको छ । यही गतिमा काम भए अर्को वर्षको दशैंसम्ममा निर्माण पूरा हुनेछ । ‘३५ प्रतिशत काम सम्पन्न भएको छ । एघार महिनाअघि शुरू गरेको काम लकडाउनका कारण ढिलो भयो’, शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर एवं साइट इन्चार्ज प्रमोदकृष्ण कर्माचार्यले जानकारी दिनुभयो– ‘लकडाउन खुकुलो भएपछि अहिले धमाधम काम भइरहेको छ ।’
सरकारले २०७५ मंसिर २१ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार ललितपुर महानगरपालिका–१८ भैंसेपाटीको १ सय ४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, मन्त्री, मुख्यमन्त्री, प्रदेशप्रमुखको निवास निर्माण गर्ने निर्णय गरेको थियो । ‘सोही निर्णयको आधारमा ११ महिनाअघि परियोजनाअन्तर्गत निर्माण शुरू गरिको हो।’ –सिनियर डिभिजन इन्जिनियर कर्माचार्यले भन्नुभयो । उहाँका अनुसार परियोजना करिब ९६ रोपनी क्षेत्रफलमा २४ मन्त्री र २७ रोपनी क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेशप्रमुखको निवास निर्माण भइरहेको छ ।
‘सम्झौताअनुसार दुई वर्षमा सक्ने योजना थियो, लकडाउनमा पनि स्थानीय कामदारको सहयोगमा काम जारी राख्ने प्रयास ग¥यौं । तोकिएकै समयमा निर्माण पूरा हुने अपेक्षा गरेका छौं’, सिनियर डिभिजन इन्जिनियर कर्माचार्यले भन्नुभयो– ‘लकडाउन हटेपछि हाल तराईबाट कामदार ल्याएर काम भइरहेको छ ।’ मन्त्रीनिवासको ठेक्का सिको हनुमान र मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको ठेक्का केसी समानान्तरले पाएका छन् । करिब १ अर्ब ३ करोड लागतमा मन्त्री निवास र ६७ करोड लागतमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माण ठेक्का दिइएको छ । प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख एउटै डुप्लेक्स भवनमा बस्नेछन् ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन एउटै भए पनि निकास भिन्न हुनेछ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख राजधानी आउँदा सोही भवनमा बस्नेछन् । मन्त्रीका लागि छुट्टाछुट्टै भवन हुनेछन् । दुई संरचनाको प्रवेशद्वार फरक हुनेछ । मुख्य सडकको दुई भागमा दुई संरचना तयार भइरहेको छ । भवन तयार भएपछि सभामुख र प्रधानमन्त्री बालुवाटारमा र मन्त्रीहरू भैंसेपाटीमा बस्नेछन् । नेपाल समाचारपत्रबाट………
