काठमाडौं । देशभर निर्धारण गरिएका १० हजार ९६७ मतदानस्थलमध्ये ३६ सय ८० मतदानस्थल अतिसंवेदनशील छन् । ती अधिकांश तराईका जिल्लाका छन् । त्यस्तै, ४४ सय ४२ मतदानस्थल सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् । बाँकी २८ सय ४५ मतदानस्थल भने सामान्य अवस्थाका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले भने, ‘मुलुकभर १० हजार ९६७ मतदानस्थल रहनेछन् । सबैको सुरक्षा विश्लेषण भएको छ । त्यसमध्ये तीन हजार ६८० अतिसंवेदनशील, चार हजार ४४२ संवेदनशील र दुई हजार ८४५ सामान्य अवस्थाका छन् ।’ निर्धारण गरिएका मतदानस्थलमा मतदान केन्द्र भने २३ हजार ११२ रहनेछन् ।
गृहले अतिसंवेदनशील मतदानस्थलमा १०, संवेदनशीलमा नौ र सामान्यमा आठ निर्वाचन प्रहरी तथा सबैमा तीन–तीन नेपाल प्रहरी खटिनेछन् । यो संख्या ०७९ को निर्वाचनको भन्दा धेरै हो । त्यतिवेला अतिसंवेदनशीलमा नौ, संवेदनशीलमा आठ र सामान्यमा सात निर्वाचन प्रहरी खटाइएको थियो । सुरक्षा चुनौती बढी रहेको निष्कर्षका आधारमा यो वर्ष निर्वाचन प्रहरीको संख्या बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
यसपालि एकभन्दा बढी मतदान केन्द्र रहेका मतदानस्थलमा प्रतिमतदान केन्द्र थप चार प्रहरी ९तीन निर्वाचन प्रहरीसहित० खटाइनेछन् । कतिपय मतदानस्थलमा एउटा मात्रै मतदान केन्द्र छ भने कतिपयमा दुईदेखि तीनवटासम्म केन्द्र छन् ।
यसरी प्रहरी परिचालन बढाउनुपर्ने भएपछि यो वर्ष अघिल्लो निर्वाचनको तुलनामा धेरै निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि स्वीकृति पाएको छ भने सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्नेछ ।
मागेभन्दा ४०५ कम बजेट
निर्वाचन प्रयोजनार्थ गृह मन्त्रालयलाई अर्थ मन्त्रालयले १० अर्ब ३९ करोड ३४ लाख ७९ हजार ७५० रुपैयाँ बजेट स्वीकृत गरेको छ । जबकि गृहले १७ अर्ब २१ करोड ४१ लाख ४५ हजार बजेट मागेको थियो । प्रस्ताव गरेभन्दा स्वीकृत बजेट ३९।६२ प्रतिशतले कम हो ।
गृह स्रोतले भन्यो, ‘हामीमातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग छन् । निर्वाचनमा खटिने मुख्यतस् यिनै सुरक्षा संयन्त्र हुन् । यी सबैका लागि हामीले १७ अर्बभन्दा धेरै बजेट मागेका थियौँ, करिब साढे १० अर्ब स्वीकृत भएर आएको छ । माग गरिएभन्दा ६ अर्ब ८२ करोड कम बजेट आएको छ ।’
विनियोजितमध्ये सबैभन्दा धेरै बजेट ‘निर्वाचन ९म्यादी० प्रहरी’का लागि खर्च हुनेछ । गृहका अनुसार एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना हुनेछन् । जसमध्ये एक लाख ३३ हजार ९८० नेपाल प्रहरीले र १५ हजार ११० सशस्त्र प्रहरीले भर्ना गर्नेछ । यसका लागि सरकारले एकमुस्ट सात अर्ब ९४ करोड १० लाख ४२ हजार बजेट सुनिश्चित गरेको छ । यो बजेटमा सात अर्ब १३ करोड २५ लाख ८९ हजार नेपाल प्रहरीले र ८० करोड ८४ लाख ५३ हजार सशस्त्र प्रहरीले खर्च गर्नेछन् । नयाँ पत्रिका दैनिकबाट……
