काठमाडौँ, १४ वैशाख । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यो दिन सन्तानहरूले आफ्नी आमालाई सम्मान गर्दै मीठा खानेकुरा खान दिई, राम्रा लुगा लगाइदिएर आशीर्वाद लिने परम्परा छ।
शास्त्रमा आमालाई उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थान दिइएको छ। यो पर्व आमाप्रति श्रद्धा, सम्मान र प्रेम व्यक्त गर्ने विशेष दिन हो। बिहानै नुहाएर सन्तानहरूले आमालाई तागतिला र मीठा खानेकुरा खान दिई, राम्रा वस्त्र पहिर्याएर आशीर्वाद लिने चलन छ। आमाको देहावसान भइसकेकाहरूले भने तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरी आमाको सम्झना गर्छन्।
वैदिक सनातन धर्ममा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा र महान् छन् भनिएको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, नौ महिना गर्भमा राखेर सन्तानलाई जन्म दिने आमाको महत्व बाबुभन्दा हजार गुणा बढी छ। त्यसैले जीवित आमालाई सम्मान र खुसी प्रदान गरिन्छ भने दिवङ्गत आमाको नाममा तर्पण र पिण्डदान गरिन्छ।
वैशाख कृष्ण औँसीमा दिवङ्गत आमाले सन्तानबाट श्राद्ध र तर्पणको अपेक्षा गर्ने शास्त्रीय विश्वास छ। यस्तो कार्यले आमा प्रसन्न भई आशीर्वाद दिने मान्यता छ। यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा ठूलो मेला लाग्छ। नगरप्रमुख घनश्याम गिरीले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।