झापा, २५ जेठ। मेचीनगर नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’जस्ता सङ्क्रामक पशु रोगको सङ्क्रमण पुष्टि भएपछि सतर्कता बढाइएको छ। नगरपालिकाको विभिन्न वडामा गाईगोरु र बङ्गुरमा देखिएको रोगका कारण पशुपालक किसान चिन्तित भएका छन्।
वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ रोग फैलिएको पुष्टि भएको छ भने वडा नं ६ मा रहेको बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’ देखिएको जनाइएकाे छ । “सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सात जना प्राविधिक कर्मचारी परिचालन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीमा घाउ-खटिरा, उच्च ज्वरो, झोक्राउने, दूध उत्पादनमा कमीजस्ता लक्षण देखिएको छ। प्रभावित क्षेत्रका गोठहरूमा प्राविधिक टोलीले मल्हम, पेनकिलर औषधि र कीटाणुनाशक वितरण गरी उपचारको काम थालिएको छ। सङ्क्रमण फैलन नदिन प्रभावित गोठ वरिपरि ५०० मिटरको परिधिभित्र रहेका १५० भन्दा बढी गाईवस्तुमा ‘रिङ भ्याक्सिन’ अभियान सञ्चालन गरिएको पशु सेवा शाखाले जनाएको छ।
वडा नं ६ स्थित बबिता बङ्गुर फार्ममा जेठ महिनाभरमै ८० वटा बङ्गुर मरेका छन्। नमूना परीक्षणपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट अफ्रिकन स्वाइन फ्लू पुष्टि भएको हो। “हामीले रिपोर्ट पाएपछि प्रभावित क्षेत्रमा औषधोपचार, नाशक प्रयोग र सूचना अभियान तीव्र बनाएका छौँ,” पशु सेवा शाखा प्रमुख विक्रम गुरुङले जानकारी दिए। फार्म सञ्चालक बबिता गहतराजले रोगका कारण ठूलो आर्थिक क्षति भएको बताइन्।
पशु प्राविधिकहरूका अनुसार दुबै रोग सङ्क्रामक भएकोले पशुपालकलाई गोठ सरसफाइमा विशेष ध्यान दिन र बिरामी पशु छुट्याएर राख्न आग्रह गरिएको छ। नगरपालिकाले रोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।