काठमाण्डौ, ८ फागुन । इरानमाथि इजरायल र अमेरिकाले आक्रमण गरेपछि मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर नेपालसम्म आइपुगेको छ । खाना पकाउने एलपी ग्यासको अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यसको प्रभाव नेपाली भान्सादेखि अर्थतन्त्रका विभिन्न क्षेत्रमा देखिन थालेको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हालसम्म पेट्रोलियम पदार्थको आयात अवरुद्ध नभए पनि मूल्यवृद्धिका कारण निगमलाई १५ दिनमै करिब ४ अर्ब रुपैयाँ घाटा हुने अवस्था सिर्जना भएको छ । उपभोक्ताले पेट्रोलमा लिटरमै १५ रुपैयाँसम्मको मूल्यवृद्धि भोगिसकेका छन् ।
अर्थविज्ञहरूका अनुसार इन्धनको मूल्य बढ्नेबित्तिकै यातायात, ढुवानी तथा दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा व्यापक असर पर्छ । साथै, नेपालको अर्थतन्त्रको मुख्य आधार रहेको रेमिट्यान्समा पनि दबाब पर्ने जोखिम देखिएको छ । मध्यपूर्वका देशहरूले नेपालको कुल रेमिट्यान्सको करिब ४१ प्रतिशत हिस्सा ओगटेका छन् ।
गत आर्थिक वर्षमा मात्रै करिब साढे ६ लाख नेपाली श्रमिक मध्यपूर्व पुगेका थिए । तर, हाल संयुक्त अरब इमिरेट्स (यूएई) र कतारजस्ता देशहरूमा कतिपय नेपाली कामदारलाई बेतलबी बिदामा राख्न थालिएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।पर्यटन क्षेत्रमा पनि प्रभाव देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मध्यपूर्व हुँदै नेपाल आउने उडानहरू आधाभन्दा कममा झरेका छन् ।
यसबाहेक रासायनिक मलको अभावले आउँदो धान र मकै खेतीको मौसममा कृषि उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको करिब एकचौथाइ योगदान रहने गरेको छ । अर्थविद्हरूले इन्धनको खपत घटाउन जोर–बिजोर प्रणाली लागू गर्न र सार्वजनिक यातायातको प्रयोग बढाउन सुझाव दिएका छन् ।