काठमाडौं, ३० असार । नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद साहले गुप्तासँग सम्बन्धित घुस डिलको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार मौन बस्नु लोकतन्त्रको अपमान भएको टिप्पणी गरे ।
उनले भने, “दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ता ज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।” साहको मागसँगै आजकै बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि मन्त्री गुप्ताको अडियोको सत्यतथ्य छानबिन गर्नुपर्ने धारणा राखिन् ।
न्यौपानेले भनिन्, “अडियो वास्तविक हो कि होइन, छानबिन आवश्यक छ। सरकार गम्भीर हुनुपर्छ ।”