भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’

सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’

नारायणगढ, १९ भाद्र । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, चितवनको सौराहा। यहाँ आउने जो कोहीले सौराहाको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन्। मानिससँगको सामीप्यमा रमाउने यी गैँडा वास्तवमा मानिसले नै पालेका हुन्।

निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार र पालन–पोषण हुने गरेको छ। यही कारणले गर्दा यिनै गैँडाका बच्चा हाल सौराहातिर देखिरहेका छन्। सौराहास्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नामका गैँडाका दुई भाले केटाहरू ९बच्चाहरू० हुर्किरहेका छन्।

गैँडाका बच्चा प्रायः वैशाख-असारको ‘सिजन’मा जन्मिन्छन्। प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम भोग्नुपर्छ। हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ। यिनको पालनपोषण कोषका कर्मचारी लालबहादुर महतरालगायतले गर्दै आएका छन्।

प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो। देवलाई भरतपुरको देवनगरबाट २०८० जेठ ३० गते उद्धार गरिएको हो। रामलाई सौराहाकै बाघमाराबाट २०८० असार १ गते ल्याइएको थियो। उद्धारका समयमा यी दुवै गैँडाका बच्चा १५–२० दिनका मात्रै थिए। प्रसाईंले भने, ‘त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटाएका थियौँ।’

रामलाई उद्धार गर्दा नजिकै एउटा माउ गैँडा मात्र देखिएको थियो, तर त्यसलाई रामकै माउ भन्ने पुष्टि गर्न नसकिएको उनले बताए। ‘आमाले बच्चा स्वीकार गरिन् कि गरेनन् वा त्यो बच्चा उसको हो कि होइन भन्ने पक्का भएन। घाइतेजस्तो पनि देखिएको थिएन। हामीले हात्तीको सहायताले बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि रामलाई यहाँ ल्याएर हेर्दा देब्रे खुट्टा टुटेको पाइयो, बाघले टोकेर छाडेको रहेछ। अनि उपचार र पालन–पोषण गरिएको हो।’

त्यसैगरी, देवनगरबाट उद्धार गरिएको देवका चारवटै खुट्टाका हाड भाँचिएका थिए। बाँच्छ कि बाँच्दैन भन्ने शंका थियो। बाघले निकै घाइते बनाएका यो केटोको अवस्था हाल सुधार भएको छ। केन्द्रका चिकित्सक डा। अमिर सडौलाले यहाँ ल्याइएका गैँडाका बच्चा धेरैजसो बाघको आक्रमणमा परेका घाइते भएको पाइएको बताए।

‘यहाँ ल्याइएका गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणमा परेर आउँछन्, बाँकी अन्य कारण वा भालेको आक्रमणका कारण घाइते हुने गर्छन्,’ उनले भने, ‘यहाँ ल्याएपछि मानिसको जस्तै उपचार गरिन्छ। घाइते गैँडाको पिसाब र शौच सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ।’गैँडाको स्वभाव अत्यन्त प्रतिरोधात्मक र प्राकृतिक रूपमा निको हुने क्षमता बढी हुने भएकाले सामान्यतया गैँडालाई विशेष उपचारको आवश्यकता कम पर्ने डा। सडौलाको भनाइ छ।

यहाँ हुर्काइएका केही गैँडा अन्य देशमा उपहारस्वरूप पठाइएको र केही प्राकृतिक जंगलमा पुनस्स्थापन गरिएका छन्। पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बांगे, बिरु, पूजा र माइला नामक गैँडालाई काठमाडौँस्थित सेन्टर चिडियाखाना पठाइएको छ। यस्तै, ब्युटी र जंगेलाई अस्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको सांघाई चिडियाखाना पठाइएको छो।

वरिष्ठ संरक्षण अधिकृत प्रसाईँका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडालगायत घाइते वन्यजन्तुहरूको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ। हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित छन्। गैँडा चार वर्षपछि वयस्क हुने हुँदा वयस्क भएपछि व्यवस्थापन गर्ने उनले बताए।

हाल केन्द्रमा रहेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदै छ। उनीहरू प्रायः निकुञ्ज तथा सौराहा आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँछ। ६ वटा गैँडाका बच्चालाई दैनिक रूपमा पालनपोषण गरी हुर्काइ सकेका केन्द्रका वन्यजन्तु प्राविधिक लालबहादुर महतरा यी गैँडाको स्याहारमा संलग्न छन्।

उनले आफ्नै सन्तानजस्तै माया गरेर गैँडाका बच्चाहरूलाई दूध एवं आहार खुवाउने गर्नुहुन्छ। ‘बच्चा अवस्थामा दुई(दुई घण्टाको अन्तरालमा दूध खुवाउनुपर्ने हुन्छ भने अलि ठूला भएपछि मकैको कुँडो र अन्य आहार दिन शुरू गरिन्छ,’ महतराले भने, ‘मैले हालसम्म देव, राम, पूजा, माइला, पुष्पा र अञ्जली नामक गैँडा हुर्काइसकेको छु। यहाँ ल्याउँदा हिँड्नसमेत नसक्ने अवस्थाका देव र राम पनि विस्तारै तंग्रिँदै छन्।’

यहाँ संरक्षण गरिने गैँडाका बच्चालाई शुरूमा दैनिक करिब दुई केजीसम्म ल्याक्टोजिन दूध दिइन्छ र बच्चा ठूलो हुँदै गएपछि दूधको मात्रा क्रमशः बढाउँदै मकैलगायत अन्य आहार पनि खुवाइने कोषका चिकित्सक डा। सडौलाले बताए। उनका अनुसार, सामान्य गाईभैँसीको दूध गैँडाका बच्चाले पचाउन सक्दैन किनभने त्यसको फ्याट र प्रोटिन संरचना गैँडाको पेटसँग मेल खाँदैन। त्यसैले बच्चा अवस्थामा खानपानमा विशेष ख्याल राख्न आवश्यक हुने उनको भनाइ छ।

माउको माया र साथबाट वञ्चित हुँदा उनीहरू प्राकृतिक वातावरणसँग सहजै घुलमिल हुन नसक्ने भएकाले सोहीअनुसार आफूहरूले व्यवस्थापन गर्ने गरेको वरिष्ठ संरक्षण अधिकृत प्रसाईँको भनाइ छ। रासस