भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

घुस मागेको अडियोपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाह विवादमा

घुस मागेको अडियोपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाह विवादमा

काठमाडौं, २९ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लागेपछि प्रदेशको राजनीति तरंगित बनेको छ । पाँच लाख रुपैयाँ घुस मागेको भनिएको अडियो सार्वजनिक भएपछि उक्त विषयले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको हो ।

वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग मुख्यमन्त्री शाहले पाँच लाख रुपैयाँ मागेको दाबी गरिएको छ । सार्वजनिक भएको अडियोमा धनगढीस्थित डिभिजन वन कार्यालयमै प्रमुखको जिम्मेवारीमा कायम राख्न रकम मागिएको आरोप लगाइएको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयबाट सचिवस्तरीय निर्णय गर्दै भट्टलाई साउन ३० गते धनगढीस्थित डिभिजन वन कार्यालयबाट कैलालीको पहलमानपुरस्थित डिभिजन वन कार्यालयमा सरुवा गरिएको थियो । भट्टले भने आफूले रकम नदिएपछि सरुवा गरिएको दाबी गरेका छन् ।

यस घटनापछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भट्टसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार घटनाबारे वास्तविकता स्पष्ट पार्न २४ घण्टाको समय दिँदै लिखित स्पष्टीकरण मागिएको हो ।

मन्त्रालयले दिएको समयभित्र सन्तोषजनक जवाफ नआए निजामती सेवा ऐन अनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ । यसले प्रदेश सरकारभित्र थप विवाद सिर्जना गरेको छ ।

यता मुख्यमन्त्री कमलबहादुर शाहले भने आफूमाथि लागेको आरोप असत्य रहेको बताएका छन् । उनले आवश्यक परे छानबिनका लागि आफू तयार रहेको प्रतिक्रिया दिएका छन् ।

यसबीच प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहको राजीनामा माग गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले मुख्यमन्त्रीकै कारण वन मन्त्रालय भ्रष्टाचारको केन्द्र बन्न पुगेको आरोप लगाएका छन् ।

उनले पदमै बसेर छानबिनको माग गर्नु उपयुक्त नहुने भन्दै मुख्यमन्त्रीले नैतिक आधारमा पद त्याग गर्नुपर्ने बताएका छन् । साथै उनले यो विषयमा प्रदेशसभामा जवाफ दिन पनि मुख्यमन्त्रीलाई चुनौती दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको वन मन्त्रालयसँग सम्बन्धित आर्थिक लेनदेनको विवाद यसअघि पनि उठ्दै आएको छ । यसअघि पनि आर्थिक अनियमितताको आरोप लागेपछि तत्कालीन मन्त्री रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई पदबाट हटाइएको थियो ।

त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले नै सम्हाल्दै आएका छन् । पछिल्लो घुस आरोप प्रकरणले प्रदेशको राजनीतिक वातावरण झन् तातेको देखिएको छ ।