मुख्य बुँदा

राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताको विषय सार्वजनिक लेखा समितिमा उठ्यो।

रास्वपा सांसदहरूले फाइल र कागजात झिकाएर गहिरो छानबिन गर्न माग।

सांसद जनकराज जोशीले महालेखा परीक्षकबाट विशेष लेखापरीक्षण गर्न प्रस्ताव।

राहदानी खरिद प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड।

समितिलाई दोषी पहिचान गरी आवश्यक निर्देशन दिन आग्रह।

काठमाडौं, २३ असार । राहदानी (पासपोर्ट) छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचार र अनियमितताको विषय प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उठेको छ। मंगलबार बसेको समितिको बैठकमा विभिन्न सांसदहरूले सम्बन्धित फाइल तथा कागजात झिकाएर विस्तृत छानबिन अघि बढाउन माग गरेका हुन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम थापा र खगेन्द्र सुनारले राहदानी छपाइ प्रक्रियामा राज्यलाई अर्बौँ रुपैयाँको नोक्सानी पुगेको दाबी गर्दै समितिले तत्काल अनुसन्धान सुरु गर्नुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका सांसद जनकराज जोशीले राहदानी खरिद प्रक्रियामा करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार तथा अनियमितता भएको भन्ने विषय अत्यन्त गम्भीर भएको बताए। उनका अनुसार यो विषय राष्ट्रिय सुरक्षा र राज्यको विश्वसनीयतासँग समेत जोडिएकाले समितिले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नुपर्छ।

सांसद जोशीले गृह मन्त्रालय र राहदानी विभागसँग सम्बन्धित सम्पूर्ण कागजात समितिमा झिकाउनुपर्ने, महालेखा परीक्षकको कार्यालयबाट विशेष लेखापरीक्षण गराउनुपर्ने तथा भविष्यमा यस्ता विवाद दोहोरिन नदिन स्वतन्त्र प्राविधिक समीक्षा गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि राखे।

रास्वपाका सांसद खगेन्द्र सुनारले राहदानी प्रकरण अहिलेको प्रमुख सार्वजनिक चासोको विषय भएको उल्लेख गर्दै यसमा कसको भूमिका र नियत के थियो भन्ने कुरा फाइल अध्ययनमार्फत स्पष्ट हुनुपर्ने बताए। राहदानी अभावका कारण विदेश जाने नागरिकहरूले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले यसबाट राज्यलाई भएको क्षति र संलग्न व्यक्तिको पहिचान गर्न समितिले गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

यस्तै, सांसद विक्रम थापाले राहदानी छपाइमा भएको ढिलासुस्ती तथा आर्थिक चलखेलबारे समितिले सरकारलाई स्पष्ट निर्देशन दिनुपर्ने धारणा राखे।

बैठकमा सहभागी सांसदहरूले सार्वजनिक खर्चमा पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्न सार्वजनिक लेखा समितिले सक्रिय रूपमा अनुसन्धान अघि बढाई आवश्यक निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन्।

मुख्य बुँदा 

जुम्लाका ८ स्थानीय तहविरुद्ध १२६ उजुरी दर्ता

३५ वटा उजुरी मात्रै फर्छ्यौट, बाँकी अनुसन्धानमै

सबैभन्दा धेरै उजुरी चन्दननाथ नगरपालिकामा (५२)

स्थानीय तहमा भ्रष्टाचारसम्बन्धी उजुरी बढ्दो

अख्तियारले अनुसन्धानलाई तीव्र बनाउने जनाएको

जुम्ला, १७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका आठ स्थानीय तहसम्बन्धी एक सय २६ वटा उजुरी परेका छन् ।

कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताए । तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उनले जानकारी दिए ।

यस्तै, गुठीचौर गाउँपालिकाका २३ उजुरीमध्ये नौ, पातारासीको ११ वटा उजुरीमध्ये चार, तातोपानी गाउँपालिकाका नौ उजुरीमध्ये दुई, हिमा गाउँपालिकाका सात वटामध्ये एक, तिलाका नौ वटामध्ये दुई, सिञ्जाका चार वटामध्ये दुई र कनकासुन्दरीका ११ उजुरीमध्ये दुई वटा फर्छ्यौट गरिएका सूचना अधिकारी बुढाले बताए ।

आयोगले स्थानीय तहका उजुरी प्रत्येक वर्ष बढ्दै गएको जनाएको छ । आयोग प्रदेश कार्यालयअन्तर्गत कर्णाली प्रदेशका १० सहित लुम्बिनी प्रदेशको पूर्वीरुकुम जिल्ला रहेको छ । रासस

काठमाडौं । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक करिब एक वर्षदेखि नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा रहेको छ । भवन र साइनबोर्ड उस्तै भए पनि बैंक संचालनको अधिकार सञ्चालकहरूको हातबाट खोसिएको छ ।

२०८१ पुस १० गते राष्ट्र बैंकले यसलाई समस्याग्रस्त घोषणा गर्दै आफ्नो नियन्त्रणमा लिएपछि खटिएको व्यवस्थापन समूहले ड्यु–डिलिजेन्स अडिट (डीडीए) सुरू गर्दा बैंक भित्रको वास्तविक अवस्था डरलाग्दो रूपमा बाहिर आएको हो । डीडीए रिपोर्टअनुसार बैंकको नेटवर्थ निकै कमजोर देखिएको छ । अपरिष्कृत विवरणले १ अर्ब ९० करोड ७३ लाख रुपैयाँ ऋणात्मक नेटवर्थ देखाएको थियो, तर समायोजनपछि यो ऋणात्मक रकम बढ्दै २ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ पुगेको बताइएको छ ।

पुँजी पर्याप्तता अनुपात समेत ९३.६५ प्रतिशतमा झरेको छ, जुन विकास बैंकका लागि आवश्यक ११ प्रतिशतभन्दा अत्यन्तै कम हो । बैंकमा १ अर्ब २७ करोड नगद अपचलन, १ अर्ब ५० करोड बराबरको अनधिकृत कारोबार, शंकास्पद कर्जा, अनधिकृत कर्जा प्रवाह र धितोको जाली मूल्यांकनजस्ता अनियमितता पाइएको छ । २ अर्ब ९३ करोड कर्जा लगानीमध्ये ७६ प्रतिशत खराब कर्जा रहेको र कर्जा धितो बिक्री गर्दा ५९ प्रतिशत मात्र कभर हुने देखिएको छ । साथै बैंकका धेरै अभिलेख तथा फाइलसमेत गायब रहेका छन् ।

बैंकको वित्तीय हैसियत धरमरिएपछि शेयरधनीहरूको पुँजीमै राष्ट्र बैंकले कैँची चलाएको छ । संस्थापक समूहका २१ लाख ३६ हजार कित्ता शेयर घटाएर २१ हजार ३६० मात्र कायम राखिएको छ भने १२ हजार ८८४ कित्ता शेयर भएका साधारण शेयरधनीको शेयर संख्या घटेर १२६ मात्र बाँकी रहने व्यवस्था गरिएको छ । यसअघि धेरै वर्ष मालिक बनेर बसेका शेयरधनीको लगानी ‘कागजी’ मात्र रहेको स्पष्ट भएको छ ।

यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान अघि बढाएको छ । संचालक राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र, राष्ट्र बैंकका तत्कालीन कर्मचारी भुवन बस्नेतलगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ, जसमा सवा तीन अर्ब रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत तुलसीपुरमा मुद्दा विचाराधीन छ । बैंक राष्ट्र बैंकको नियन्त्रणमा रहे पनि प्राथमिकताका आधारमा निक्षेप भुक्तानी गरिँदै आएको थियो । तर तरलता अभाव बढेसँगै निक्षेप भुक्तानी कार्य अस्थायी रूपमा रोकिएको छ । तरलता उपलब्ध भएपछि भुक्तानी पुनः सुचारु गरिने बताइएको छ ।

बैंकको अस्तित्व जोगाउन डीडीएले तत्काल सुधारका कदम चाल्न सुझाव दिएको छ । खराब कर्जा असुलीमा जोड दिन, धितो लिलामी तथा कानुनी कारबाही अघि बढाउन, शेयरधनी वा बाह्य लगानीकर्ताबाट पुँजी थप्न, आन्तरिक नियन्त्रण तथा सुशासन प्रणाली सुधार्न, लागत घटाउन र आवश्यकता परे राष्ट्र बैंकसँग नियामकीय छुटका लागि समन्वय गर्न भनिएको छ । वित्तीय संकट चर्किएको देखिँदा कुनै बलियो संस्थासँग मर्जरमा जाने विकल्पलाई पनि सक्रिय रूपमा विचार गर्न सुझाइएको छ ।

मुख्य बुँदा

कोशी अस्पताल फार्मेसीका तीन करार कर्मचारी बर्खास्त ।

स्वास्थ्य बीमा रकम दुरुपयोग गरेर बिरामीको खातामा बढी रकम कटाएको पुष्टि ।

मोरङका क्यान्सर पीडित बिरामीको लिखित उजुरीपछि घटना सार्वजनिक ।

अस्पतालमा दैनिक १ हजार बिरामी, आधाभन्दा बढी बीमा सदस्य ।

दीर्घरोगीको चाप बढ्दै, बीमाको पारदर्शिता सुनिश्चित गर्न माग ।

विराटनगर, ३१ भाद्र । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन कर्मचारीलाई बीमा रकम दुरुपयोग गरेको पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको छ । अस्पताल प्रशासनका अनुसार बर्खास्तमा परेकामध्ये दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी रहेका छन् ।

ती कर्मचारीहरूले औषधि कम आपूर्ति गरेर बढी रकम कटाउने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी लिने तथा बिरामीको नाममा ठूलो मात्रामा औषधि देखाउने जस्ता अनियमिततामा संलग्न भएको प्रमाणित भएको छ ।

मोरङका एक क्यान्सर पीडित बिरामीले उजुरी दिएपछि घटना बाहिर आएको हो । चिकित्सकले सात दिनका लागि औषधि लेखिदिँदा पनि बीमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि पीडित बिरामीले लिखित उजुरी दिएका थिए ।

छानबिन समितिको प्रतिवेदनअनुसार कर्मचारीहरूको प्रत्यक्ष संलग्नता पुष्टि भएपछि बर्खास्त गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले जानकारी दिइन् । कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी आउने गर्छन् ।

तीमध्ये आधाभन्दा बढी स्वास्थ्य बीमा सदस्य हुन्छन् । अघिल्लो वर्ष अस्पतालमा सेवा लिने तीन लाख १७ हजारभन्दा बढी बिरामीमध्ये एक लाख २३ हजारले स्वास्थ्य बीमामार्फत उपचार गरेका थिए ।

विशेषगरी उच्च रक्तचाप, दम, मधुमेह, मुटुरोग र मस्तिष्कसम्बन्धी समस्या भएका बिरामीमा बीमा सेवाको प्रयोग बढी हुने गरेको छ । सरोकारवालाका अनुसार दीर्घरोग बढ्दै गएसँगै बीमाको दुरुपयोग रोक्न औषधि आपूर्ति र बिलिङ प्रणाली अझ पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

काठमाडाैं, १० असार । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शङ्करदार वैरागीको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो।

यो समिति गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य सहित गठन गरिएको छ। समितिलाई तीन महिनाभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न तोकिएको छ। समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रक्रियामा भएका अनियमितता विषयमा छानबिन गर्नेछ।

यसअघि भिजिट भिसा प्रकरण छानबिनका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच दुई बुँदे सहमति भई संसदमा छानबिन समिति वा न्यायिक आयोग गठनको माग हुँदै आएको थियो।

काठमाण्डौ, ३१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकलाई नगदसहित पक्राउ गरेको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङसहित बिचौलिया पनि पक्राउ परेका छन् ।

गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । लाइसेन्स परीक्षामा असफललाई पास गराउन रकम लिने गरिएको र गैर कानूनीकार्य भएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका आयोगले जनाएको छ ।

त्यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी, विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय उपकरण र अन्य कागजातसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो । रासस