काठमाडौं, १० साउन । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति गरेका छन् ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले ले सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा ले नेतृत्व गर्नेछ । मधेश र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकार गठनको स्वरूप तय गर्ने सहमति भएको छ ।
दुवै दलले राजनीतिक स्थिरता, सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहका लागि प्रदेश सरकारमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । यता, नेपाली कांग्रेस ले तीन दलको सहकार्यमा प्रदेश सरकार गठन गर्ने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेको सहमति पत्रमा मधेश र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्शपछि मात्रै सरकारको नेतृत्व र सहभागिताको ढाँचा तय गरिने उल्लेख गरिएको छ ।
हाल मधेश र गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार रहेको छ । ती प्रदेशमा एमाले र नेकपाको मात्र समर्थनले सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने भएकाले अन्य दलसँग सहकार्य आवश्यक पर्ने देखिएको छ ।
पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले सहकार्य गर्ने निर्णय गरिएको दुवै दलले बताएका छन् ।
