ब्लू ओरिजिनको ‘न्यू ग्लेन’ रकेट परीक्षणका क्रममा विस्फोट
घटना फ्लोरिडाको केप क्यानाभेरल लन्च प्याडमा भएको
कुनै मानवीय क्षति नभएको कम्पनीको दाबी
विस्फोटपछि अनुसन्धान सुरु, जेफ बेजोसले पुनर्निर्माणको प्रतिबद्धता
नासा र आर्टेमिस चन्द्र अभियानमा असर पर्ने सम्भावना
एजेन्सी, १५ जेठ । अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट परीक्षणका क्रममा विस्फोट भएको छ। घटना फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनमा गरिएको ‘हटफायर’ परीक्षणका बेला भएको हो।
कम्पनीका अनुसार परीक्षणका क्रममा अचानक प्राविधिक समस्या उत्पन्न भएपछि रकेटमा आगलागी भई विस्फोट भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा करिब ९८ मिटर अग्लो रकेटको तल्लो भागबाट बाक्लो धुवाँ निस्किएको र केही क्षणमै ठूलो आगोको मुस्लोमा परिणत भएको देखिएको छ।
ब्लू ओरिजिनले घटनापछि जारी गरेको संक्षिप्त वक्तव्यमा सबै कर्मचारी सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको जनाएको छ।‘न्यू ग्लेन’ रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष योजनाको प्रमुख हिस्सा हो। यस घटनाले कम्पनीको भविष्यका मिसन र परीक्षण कार्यक्रममाथि थप प्रश्न उठाएको छ।
घटनापछि कम्पनीका संस्थापक जेफ बेजोसले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको बताएका छन्। उनले आवश्यक परे संरचना पुनर्निर्माण गर्ने र कम्पनीलाई पुनः उडानमा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्। ब्लू ओरिजिनका प्रमुख प्रतिस्पर्धी कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कले पनि घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई दुर्भाग्यपूर्ण बताएका छन्।
फ्लोरिडाका सांसद माइक ह्यारिडोपोलोसले नासाका प्रशासक जेरेड आइज्याकम्यानसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्। उनले कुनै घाइते नभएकोमा राहत व्यक्त गर्दै उद्धारकर्मी, इन्जिनियर र प्रक्षेपण टोलीलाई धन्यवाद दिएका छन्। अमेरिकी अन्तरिक्ष संस्था नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियान अन्तर्गत चन्द्र ल्यान्डर विकासमा सहकार्य गरिरहेका छन्। नासाले घटनाबारे जानकारी रहेको र विस्तृत अनुसन्धानपछि आगामी मिसनमा पर्ने असर मूल्याङ्कन गरिने जनाएको छ।
यसअघि पनि न्यू ग्लेन रकेटले केही प्राविधिक समस्या सामना गरेको थियो। गत महिना गरिएको परीक्षणमा रकेटले उपग्रहलाई निर्धारित कक्षामा पुर्याउन सकेको थिएन। यद्यपि बूस्टर पुनः प्राप्ति सफल भएको कम्पनीको दाबी थियो।
पछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले कम्पनीलाई दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएको थियो। कम्पनीका अनुसार उक्त अनुसन्धान हालै सम्पन्न भइसकेको छ। मे २२ मा कम्पनीले अत्यधिक तापीय अवस्थाका कारण एउटा इन्जिनले पूर्ण शक्ति उत्पादन गर्न नसक्दा लक्ष्यित कक्षा गुमेको जानकारी दिएको थियो।
एजेन्सी, माघ ७ । चीनले दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ।
हैनानमा रहेको व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको हो।
यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो। यसअघि ६ दिनअघि त्यही स्थानबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो। चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) अन्तर्गत अन्तरिक्ष क्षेत्रलाई देशको औद्योगिक प्रणाली र वास्तविक अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिएको छ।
उच्च कार्यक्षमता, बजारमुखी नवप्रवर्तन र ठूलो मात्रामा उत्पादन क्षमता भएका व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चीनको अन्तरिक्ष विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
सोमवार प्रक्षेपित उपग्रहहरू बेइजिङमा रहेको व्यावसायिक कम्पनी ग्यालेक्सीस्पेसले विकास गरेको हो। कम्पनीले अहिलेसम्म स्टारलिङ्क–जस्तै उपग्रह सञ्जाल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
मास्को । अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण भई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आठ महिनाको अभियान सुरु गरेको छ ।
रूसी सोयुज प्रक्षेपण यान बिहान २:२७ बजे (बाइकोनुर, काजाकिस्तान) बाट प्रक्षेपण गरिएको थियो । यस अन्तरिक्षयानमा अमेरिकी अन्तरिक्ष यात्री क्रिस विलियम्स र रूसी सहकर्मीहरू सर्जेई मिकाएभ र सर्जेई कुद–स्भेर्चकोभ रहेका थिए । सो यान बिहान ५ः३४ बजे अन्तरिक्ष स्टेशनमा जोडिएको थियो ।
तीनै जना करिब आठ महिनासम्म यस कक्षीय स्टेशनमा बस्ने अपेक्षा गरिएको छ । अमेरिकी अन्तरिक्ष यात्री विलियम्स र मिकाएभका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो, भने कुद–स्भेर्चकोभका लागि यो दोस्रो यात्रा हो ।
अन्तरिक्ष स्टेशनमा हाल अमेरिकी अन्तरिक्ष यात्री माइक फिन्क, जेना कार्डम्यान र जोनी किम, जापानी अन्तरिक्ष यात्री किमिया युइ र रूसी अन्तरिक्ष यात्री सर्जेई रिजिकोभ, अलेक्सी जुब्रित्स्की र ओलेग प्लेटोनभ पनि छन् ।
विलियम्सले वैज्ञानिक अनुसन्धान र प्रविधि प्रदर्शन गर्नेछन्, जसले मानव अन्तरिक्ष अन्वेषणमा योगदान पुर्याउने र पृथ्वीमा जीवनलाई फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।
रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा टोली स्वस्थ रहेको जनाएको छ । तर प्रक्षेपणपछि बाइकोनुरमा गरिएको नियमित निरीक्षणमा प्रक्षेपण स्थलका केही भागहरूमा क्षति पाइएको छ ।
रोस्कोस्मोसले भनेको छ, “क्षतिको मूल्याङ्कन भइरहेको छ, आवश्यक सबै प्रतिस्थापन सामग्री उपलब्ध छन् र चाँडै मर्मत गरिनेछ ।” रासस/एपी
काठमाडौं, १ असाेज । मंगलग्रहमा जीवनसँग जोडिन सक्ने नयाँ संकेतहरू फेला परेका छन् । नासाको पर्सिभरेन्स रोभरले जेजेरो क्रेटरको ‘ब्राइट एन्जल फर्मेसन’ क्षेत्रमा यस्तो रासायनिक–खनिज संरचना दर्ता गरेको हो । वैज्ञानिकहरूले यसलाई सम्भावित ‘बायोसिग्नेचर’ भनेर व्याख्या गरिरहेका छन् ।
‘बायोसिग्नेचर’ भनेको भौतिक, रासायनिक वा संरचनात्मक संकेत हो, जसले ग्रहमा कहिल्यै जीवनको गतिविधि भएको हुनसक्ने देखाउँछ । यो जीवनको प्रत्यक्ष प्रमाण भने होइन । तर, यदि यो सूक्ष्मजीवहरूसँग सम्बन्धित प्रमाण भएको पुष्टि भएमा, यसलाई मानव इतिहासकै ठूलो खोज मानिनेछ ।
मुख्य पत्ता लगाइएका तथ्यहरू: ब्राइट एन्जल फर्मेसनमा अरबौँ वर्ष पहिले पानी बग्दा बनेका मसिनो चट्टान भेटिएका छन्।
रोभरले आइरन अक्साइड, फस्फोरस, सल्फर र विशेषगरी जैविक कार्बन फेला पारेको छ। जीवनको आधार मानिने जैविक कार्बनसँगै साना गोलाकार कण (पोपी सिड्स) र धब्बेदार ढाँचा (लेपर्ड स्पोट्स)मा भिभियानाइट र ग्रेगाइटजस्ता खनिजहरू भेटिएका छन्। यस्ता खनिजहरू पृथ्वीमा प्रायः पानीले भरिएको, चिसो वातावरणमा मात्र बन्ने गर्छन्।
संभावना दुईवटा: १. यी संरचना र खनिजहरू केवल भूगर्भीय प्रक्रियाबाट बनेका हुन्। २. अरबौँ वर्षअघि अवस्थित सूक्ष्मजीवहरूले भूमिका खेलेका हुन्। सल्फरमा आधारित संकेत प्रायः उच्च तापक्रममा देखिने भए पनि मंगलमा उच्च तापक्रमको प्रमाण भेटिएको छैन। यसले सूक्ष्मजीवहरूको सम्भावनालाई अझै खुला राख्छ।
पर्सिभरेन्सले हालै ‘सेफायर क्यान्यन’बाट कोर स्याम्पल संकलन गरेको छ। यो नमूना सुरक्षित ट्युबमा राखिएको छ र भविष्यमा पृथ्वीमा ल्याएर उन्नत प्रयोगशालामा परीक्षण गरिनेछ। यसले कार्बन आइसोटोप, खनिज संरचना र सम्भावित सूक्ष्म जीवाश्मको विस्तृत जाँच गर्न मद्दत गर्नेछ।
अनुसन्धान नेचर जर्नलमा प्रकाशित गरिएको छ। वैज्ञानिकहरूको भनाइमा, यो जीवनको अन्तिम प्रमाण नभए पनि सम्भावित बायोसिग्नेचर हो, जसले भविष्यमा अन्तरिक्ष विज्ञानको दिशै परिवर्तन गर्न सक्छ।